लोकसारथि, ३ फाल्गुन । रूपन्देहीको तिलोत्तमा नगरपालिकामा महिलामैत्री सहर निर्माणको योजना अघि बढिरहेको छ। व्यवस्थित बसोबाससहित सहरीकरणमा फड्को मार्दै गइरहेको यस नगरपालिकाले महिलामैत्री सहरीकरणको अवधारणा अघि सारेको छ। नगरपालिकाका प्रमुख रामकृष्ण खाँणका अनुसार, नगर क्षेत्रका संरचनाहरू महिलामैत्री बनाउने उद्देश्यले विभिन्न योजनाहरू अगाडि सारिएको छ।
खाँणका अनुसार, नगर क्षेत्रमा रहेका खुला जग्गाहरूलाई व्यवस्थित गरी महिलामैत्री संरचना निर्माण गरिनेछ। यसै सन्दर्भमा ‘यूएनओपीएस’ परियोजना लागू गरिएको छ, जसले महिलामैत्री पूर्वाधार निर्माणका लागि ठोस योजना अघि बढाउनेछ।
महिलामैत्री पूर्वाधार निर्माणका लागि विशेष योजना
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालका अनुसार, यो परियोजना दुई आर्थिक वर्षसम्म सञ्चालन हुनेछ। नीति निर्माण, जनसहभागिता, पूर्वाधार विकास, र ज्ञान व्यवस्थापन गरी चारवटा मुख्य क्षेत्रमा केन्द्रित रहेर कार्य गरिनेछ। नगरपालिकाको ३० प्रतिशत लागत सहभागितामा साढे दुई करोड रकम परियोजनाबाट सहयोग प्राप्त हुनेछ।
देशभरका आठ स्थानीय तहमा लागू भइसकेको यो परियोजना हाल रूपन्देहीको तिलोत्तमा नगरपालिकामा पनि अघि बढाइएको छ। अन्य नगरपालिकाहरूमा धनगढी उपमहानगरपालिका, हेटौंडा उपमहानगरपालिका, वीरेन्द्रनगर नगरपालिका (सुर्खेत), चन्द्रगिरि नगरपालिका (काठमाडौं), लम्कीचुहा नगरपालिका (कैलाली), सुनवल नगरपालिका (रूपन्देही), र तानसेन नगरपालिका (पाल्पा) छन्।
महिलाहरूको सुरक्षाका लागि संरचना निर्माणमा जोड
महिलामैत्री सहरीकरणको अवधारणा अत्यन्तै राम्रो भएको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा रूपन्देहीकी अध्यक्ष ज्ञानू पौड्याल बताउँछिन्। उनले नगरपालिकाका प्रमुख कार्यालयहरूमा महिलामैत्री संरचना निर्माण भइरहेको देखिएको जानकारी दिइन्।
उनका अनुसार, पछिल्लो समय स्थानीय सरकारमार्फत पर्यटन क्षेत्रको विकासका लागि पार्क निर्माण गरिए पनि त्यहाँका भौतिक संरचना लैंगिकमैत्री नदेखिएको गुनासो आएको छ। महिलाहरूलाई सुरक्षित महसुस गराउने वातावरण निर्माण गर्न पार्क तथा सार्वजनिक स्थानहरूमा उचित सुरक्षाका उपायहरू अवलम्बन गर्नुपर्नेमा उनले जोड दिइन्।
‘पार्कमा मानिसहरू रातिसम्म घुम्न चाहन्छन्, तर महिलाहरूलाई सुरक्षित महसुस हुने वातावरण बनाइनुपर्छ। शौचालय निर्माण गर्दा पुरुष, महिला, र तेस्रो लिंगी समुदायलाई ध्यानमा राखेर बनाइनुपर्छ,’ पौड्यालले भनिन्।
नगरपालिकाले महिलाहरूको नेतृत्व विकास, सशक्तीकरण, र उद्यमशीलताको क्षेत्रमा सहकार्य गर्दै अघि बढिरहेको छ। महिलामैत्री सहरीकरणको अवधारणाले नगर क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ।