logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्तिपछि नेपाली राजनीतिमा तरंग

पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्तिपछि नेपाली राजनीतिमा तरंग


  • आइतबार, फाल्गुन ११ २०८१
  • 442
    SHARES

    काठमाडौं – प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिले नेपाली राजनीतिमा तरंग पैदा गरेको छ। पूर्वराजाको अभिव्यक्तिपछि राजावादी शक्तिहरू हौसिएका छन् भने लोकतन्त्रवादी शक्तिहरू आक्रोशित बनेका छन्।

    राजावादी शक्ति मानिने राप्रपा र राप्रपा नेपाल लगायतका पार्टीहरूले पूर्वराजाले देशबारे व्यक्त गरेको चिन्तालाई स्वाभाविक बताउँदै अबको नेतृत्व उनलाई नै सुम्पनुपर्ने तर्क गरिरहेका छन्। यता लोकतन्त्रवादी शक्तिहरू भने लोकतन्त्रको विकल्प राजा हुनै नसक्ने जिकिर गरिरहेका छन्।

    यो विषय संसद्मा समेत प्रवेश पाएको छ। नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले पूर्वराजाले सत्तामा फर्किन चाहना भए चुनावमा भाग लिन चुनौती दिएकी छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले वर्तमान व्यवस्था ल्याउन कुनै योगदान नदिएकाहरू नै समाजमा अराजकता फैलाइरहेको बताइन्।

    ‘प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजाले सार्वजनिक गरेको विचारलाई लिएर समाज तरंगित त भयो नै, पक्ष र विपक्षमा मतहरू छताछुल्ल भए। यो व्यवस्था नै ठिक छैन भन्ने डंका पनि पिटिए,’ उनले भनिन्, ‘जसले यो व्यवस्था ल्याउन कुनै योगदान गरेनन्, बिडम्बना उनैले संविधानको भावना विपरित लोकतान्त्रिक गणतन्त्र एवं यो व्यवस्थाविरुद्ध आन्दोलन गरिरहेका छन्।’

    यता, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रले लुटतन्त्र भइरहँदासम्म विरोध गरिरहने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा केही सांसदले पूर्वराजाले प्रजातन्त्र दिवसको अवसरमा दिएको अभिव्यक्तिलाई लिएर आपत्ति जनाएपछि लिङ्देनले यस्तो प्रतिक्रिया दिएका हुन्।

    ‘म नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ, राजासहितको प्रजातन्त्र हुनुपर्छ भन्ने पार्टीको अध्यक्ष हुँ। गणतन्त्रको विरोध गर्नु प्रजातन्त्रको विरोध गर्नु होइन,’ उनले भने, ‘गणतन्त्र लुटतन्त्र बन्दै गएमा हामी निरन्तर विरोध गरिरहन्छौँ।’

    प्रकाशित : आइतबार, ११ फाल्गुन २०८१ , ०८:५६ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend