लोकसारथि, १९ फागुन । विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भुस्थित ऐतिहासिक प्रतापपुर र अनन्तपुर मन्दिरको जीर्णोद्वार कार्य सम्पन्न भएको छ। स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले करिब एक वर्षको अवधिमा दुवै मन्दिरको आवश्यक मर्मतसम्भार तथा जीर्णोद्वार सम्पन्न गरेको हो।
महासमितिका अनुसार, विसं २०७२ को भूकम्पका कारण यी सम्पदामा क्षति पुगेपछि पुरातत्व विभागको अनुमति लिएर नयाँ प्रविधिको प्रयोग गरी मर्मतसम्भार तथा रङ्ग रोङ्गगनको कार्य गरिएको हो। महासमितिका सचिव चन्द्ररत्न बुद्धाचार्यका अनुसार, दुवै मन्दिरलाई पुरानै स्वरूपमा फर्काउने उद्देश्यले जीर्णोद्वार गरिएको हो।
राजा प्रताप मल्लले आफ्नो नामबाट प्रतापपुर मन्दिर नामाकरण गराएका थिए भने रानी अनन्तप्रियाको सम्झनामा अनन्तपुर मन्दिर निर्माण गराइएको इतिहास पाइन्छ। यी सम्पदा ऐतिहासिक तथा पुरातात्विक महत्वका क्षेत्र भएकाले संरक्षण आवश्यक रहेको महासमितिले जनाएको छ।
महासमितिका महासचिव महेन्द्ररत्न बुद्धाचार्यका अनुसार, महासमिति र पुरातत्व विभागले स्वयम्भू क्षेत्रका अन्य चैत्य तथा प्राचीन सम्पदाहरूको अध्ययन गरिरहेको छ। यसअघि आगलागी र चट्याङका कारण यी सम्पदाहरूमा क्षति पुगेपछि पनि जीर्णोद्वार गरिएको थियो।
महासमितिले स्वयम्भू क्षेत्रको जङ्गल संरक्षणका लागि वृक्षरोपण, स्थानीय जात्रा तथा पर्वहरूको व्यवस्थापन तथा पार्कको सजावट गर्दै आएको छ। महासमितिका इन्जिनियर राजेश सुवालका अनुसार, करिब २० लाखको लागतमा यी सम्पदाको जीर्णोद्वार कार्य सम्पन्न भएको हो। साथै, महाचैत्य आसपासका अन्य सम्पदाको मर्मत सम्भावनाबारे अध्ययन भइरहेको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
