logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा गगन थापाको देशव्यापी दौडाह

नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा गगन थापाको देशव्यापी दौडाह


  • सोमबार, फाल्गुन १९ २०८१
  • 2.1K
    SHARES

    लोकसारथि, १९ फागुन । नेपाली कांग्रेसको १५औं महाधिवेशनको मिति अन्योल रहेकै अवस्थामा महामन्त्री गगन थापाले देशव्यापी दौडाहा तीव्र बनाएका छन्। पार्टीभित्र सभापति शेरबहादुर देउवाको पक्षधरले नेतृत्व हस्तान्तरणबारे छलफल गरिरहेका बेला इतर पक्षका प्रभावशाली नेता थापा भने संगठन सुदृढीकरणका लागि व्यापक दौडाहामा छन्।

    थापाले पछिल्लो एक महिनाभित्र मात्रै २२ भन्दा बढी कार्यक्रमहरूमा सहभागिता जनाएका छन्। उनका कार्यक्रमहरू काठमाडौंभन्दा बाहिर केन्द्रित छन्। उनले ठूला सभा मात्र होइन, गाउँ कार्यसमितिदेखि माओवादी प्रभाव क्षेत्रसम्म संगठनलाई सशक्त बनाउन विविध कार्यक्रमहरूमा सहभागी भइरहेका छन्।

    गगन थापाको सक्रियता

    गगन थापा १४औं महाधिवेशनमा इतर समूहका नेता शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा विजयी भएका थिए। पछिल्लो संसदीय दलको निर्वाचनमा उनी सभापतिका उम्मेदवार बने पनि पराजित भए। तर, कार्यकारी महामन्त्रीका रूपमा पार्टी संगठनलाई चलायमान बनाउन उनले निरन्तर दौडाह जारी राखेका छन्।

    कार्यकारी महामन्त्रीको रूपमा आफ्नो औपचारिक भूमिका निर्वाह गर्दै थापाले भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको महाधिवेशनमा उपस्थित हुन थालेका छन्। उनका सचिवालयका अनुसार उनले स्थानीय तहका साना कार्यक्रमहरूदेखि ठूला क्षेत्रीय सम्मेलनसम्म सक्रिय रूपमा सहभागी भइरहेका छन्।

    एक महिनामा २२ कार्यक्रम

    गगन थापाले पछिल्लो एक महिनाभित्र विभिन्न जिल्लामा रहेका महत्त्वपूर्ण कार्यक्रमहरूमा सहभागिता जनाएका छन्। माघ १६ गते नेपाली कांग्रेसको उद्यमशीलता तथा साना व्यवसायी विकास विभागको सम्मेलनमा उपस्थित भएर उनले पार्टीको आर्थिक दृष्टिकोणबारे विचार राखे। माघ २१ र २२ गते कास्कीमा पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी भए।

    उनले माघ २३ गते पोखरामा जिल्ला सभापतिहरूसँग भेटघाट गरे भने माघ २६ गते अर्घाखाँची सम्पर्क समितिको कार्यक्रमलाई सम्बोधन गरे। माघ २८ गते चितवनको नगर सम्मेलन, माघ ३० गते बुटवलमा मुस्लिम संघको लुम्बिनी प्रदेश अधिवेशन, फागुन १ गते काठमाडौंमा पार्टी पदाधिकारी बैठकमा सहभागिता जनाए।

    फागुन ७ गते पाल्पामा लोकतान्त्रिक महोत्सव, फागुन ९ गते मोरङमा प्रचार विभागको कार्यक्रम, फागुन १० गते सल्यान जिल्ला सम्मेलन, फागुन ११ गते रोल्पा जिल्ला सम्मेलन र भलिबल प्रतियोगिता उद्घाटन, फागुन १२ गते प्युठान जिल्ला सम्मेलनमा सहभागिता जनाए।

    शिवरात्रिका दिन उनले बिहान ४ बजे पशुपति दर्शन गरे भने फागुन १५ गते कास्कीमा नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघको तेस्रो स्थापना दिवसमा सहभागी भए। फागुन १६ गते पोखरामा नेपाल लिटरेचर फेस्टिभल, फागुन १७ गते नेपालगञ्जमा डेमोक्रेटिक लयर्स एसोसियसन तथा पेशागत तथा बुद्धिजीवी विभागको कार्यक्रममा पनि सहभागिता जनाए।

    महाधिवेशन लक्षित दौडाह

    गगन थापाको दौडाहा नेपाली कांग्रेसको आसन्न महाधिवेशन केन्द्रित देखिएको छ। पार्टीभित्र संस्थापन पक्षले नेतृत्व हस्तान्तरणबारे छलफल गरिरहेको अवस्थामा इतर पक्षका नेताहरूले पनि आफ्नो प्रभाव विस्तार गर्न खोजिरहेका छन्। गगन थापाले साना बैठकहरू, कार्यकर्ता भेटघाट, धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूमा समेत सक्रियता देखाउँदै महाधिवेशनको तयारी गरिरहेको संकेत दिएका छन्।

    कांग्रेसका कार्यकर्ता तथा विश्लेषकहरूका अनुसार गगन थापाले २०४८ सालमा गिरिजाप्रसाद कोइरालाले समातेको जस्तै सांगठनिक लय समात्न खोजेका छन्। पार्टीभित्र उनले देशव्यापी रूपमा लोकप्रियता बढाइरहेका छन्।

    नेपाली कांग्रेसको आगामी महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ। यसै क्रममा पार्टीका वरिष्ठ नेता शेखर कोइरालाले पनि महाधिवेशन तयारी अगाडि बढाएका छन्। तर, संस्थापन पक्षले उनीलाई औपचारिक कार्यक्रममा बोलाउन छोडेको देखिन्छ।

    गगन थापाको यो दौडाहाले नेपाली कांग्रेसको आगामी नेतृत्व कस्तो बन्ने भन्ने संकेत गर्न सक्छ।

    प्रकाशित : सोमबार, १९ फाल्गुन २०८१ , ०७:५२ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend