लोकसारथि, २४ फागुन । ‘सबै महिला तथा बालिकाको लागि ः अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ आज ११५औं अन्तर्राष्ट्रिय महिला दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ।
सरकार, सरोकारवाला निकाय तथा महिला अधिकारका क्षेत्रमा क्रियाशील विभिन्न संगठनहरूले यस दिवसलाई भव्य रूपमा मनाउने तयारी गरेका छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा विशेष समारोहको आयोजना गरेको छ। यस्तै, विभिन्न राजनीतिक दलसम्बद्ध महिला संगठनहरूले पनि आ-आफ्ना कार्यक्रम तय गरेका छन्।
अन्तर्राष्ट्रिय महिला दिवसले महिलाको प्रविधिमा पहुँच विस्तार, महिला सशक्तिकरण अभिवृद्धि, लैंगिक असमानता न्यूनीकरण र हिंसाजन्य क्रियाकलापको अन्त्य गर्ने लक्ष्य राखेको छ। साथै, महिलालाई शिक्षित, आत्मनिर्भर र सशक्त बनाउने अभियानलाई पनि यस दिवसले सन्देश दिने उद्देश्य राखेको छ।
नेपालको संविधान र महिला अधिकार
नेपालको संविधानले लैंगिक समानता सुनिश्चित गर्दै कुनै पनि धर्म, संस्कृति, परम्परा वा अन्य कुनै आधारमा हुने विभेद, शोषण र अन्यायको अन्त्य गर्ने नीति लिएको छ। महिलाको हकलाई मौलिक हकका रूपमा स्थापित गर्दै समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका विभिन्न तहमा महिला सहभागिता वृद्धि हुँदै गएको छ।
संघीय संसद्मा ३४ प्रतिशत, प्रदेश सभामा ३६.५ प्रतिशत र स्थानीय तहमा ४१.१ प्रतिशत महिला जनप्रतिनिधिहरू छन्। निजामती सेवामा हाल करिब २८ प्रतिशत महिलाहरू संलग्न छन्।
महिला हिंसा अन्त्य र समान पहुँचको माग
समाजमा रहेका हानिकारक परम्परा तथा विभेदका कारण महिलामाथि हुने हिंसा अझै रोकिएको छैन। बालिका तथा किशोरीहरूमाथि हुने शारीरिक तथा मानसिक हिंसा न्यूनीकरणका लागि समाजका सबै पक्षको समन्वय आवश्यक रहेको अधिकारकर्मीहरू बताउँछन्। शिक्षा, स्वास्थ्य, रोजगारी, नीति निर्माण, निर्णय प्रक्रिया तथा राजनीतिक क्षेत्रमा महिलाको समान पहुँच सुनिश्चित गर्न अझै धेरै प्रयास आवश्यक देखिन्छ।
अन्तर्राष्ट्रिय महिला दिवसको इतिहास
सन् १९७५ देखि संयुक्त राष्ट्रसंघले औपचारिक रूपमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थालेको हो। पहिलो अन्तर्राष्ट्रिय महिला दिवसको नारा ‘विगतलाई उत्सवका रूपमा मनाउने र भविष्यको योजना बनाउने’ थियो।
सन् १९०८ को मार्च ८ मा अमेरिकाका १५,००० भन्दा बढी महिलाले आफ्नो श्रम अधिकार, तलब वृद्धिको माग तथा मतदान अधिकार सुनिश्चित गर्न प्रदर्शन गरेका थिए। सोही घटनालाई महिला अधिकारको आन्दोलनको महत्वपूर्ण आधार मानिन्छ।
आजको दिन महिलाका उपलब्धि स्मरण गर्दै आगामी दिनहरूमा महिला अधिकार, समानता र सशक्तिकरणका लागि थप प्रतिबद्धता जनाउने अवसरको रूपमा लिइन्छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
