logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन, विश्व शान्तिको कामना

लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन, विश्व शान्तिको कामना


  • आइतबार, फाल्गुन २५ २०८१
  • 2.7K
    SHARES

    लोकसारथि डेस्क, २६ फागुन । विश्व शान्तिको कामनासहित बुद्धजन्मस्थल लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन गरिएको छ। चौथो त्रिपिटक पाठ समारोहको समापनसँगै शनिबार साँझ लुम्बिनी स्क्वायरको केन्द्रीय नहर क्षेत्रमा दीप प्रज्ज्वलन गरिएको हो।

    धम्मकाय फाउन्डेसनको संयोजनमा भिक्षु–भिक्षुणी, लामा गुरु, आनी, उपासक-उपासिका तथा पाँच सय जना अल्पकालीन प्रव्रजित भिक्षुहरूको सहभागितामा शान्ति र सौहर्दताका लागि दीप प्रज्ज्वलन गरिएको हो। नेपालको झण्डा केन्द्रभागमा राख्दै धम्मचक्रको आकारमा दीप प्रज्ज्वलन गरिएको थियो। कार्यक्रमको उद्घाटन अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष धम्मशोभन महास्थविरले गरेका थिए।

    लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बुद्धजन्मस्थल लुम्बिनीमा दीप प्रज्ज्वलन गरी विश्व शान्ति र प्राणी जगत्को कल्याणको कामना गर्नु महत्त्वपूर्ण रहेको बताए। उनले यस्ता आध्यात्मिक कार्यक्रममार्फत बुद्धका उपदेशहरूलाई विश्वभर फैलाउनु आवश्यक रहेकोमा जोड दिए।

    थाई धम्मकायका सल्लाहकार डा. अदिसकले बुद्धको शिक्षाले विश्वबन्धुत्व र एकतालाई जोड दिएको उल्लेख गर्दै दीपले आन्तरिक तथा बाह्य ज्ञानलाई प्रतिबिम्बन गर्ने बताए।

    कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका सल्लाहकार रोशनी गिरी, अखिल नेपाल भिक्षु महासङ्घका सचिव भिक्षु निग्रोध महास्थविर, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा. सुवर्णलाल बज्राचार्यलगायतले दीपको प्रकाशजस्तै बुद्धका उपदेशले पनि अँध्यारो चिर्दै जाने बताए।

    सकियो चौथो अन्तर्राष्ट्रिय त्रिपिटक पाठ

    यसैबीच, लुम्बिनीमा सञ्चालन भएको चारदिने चौथो अन्तर्राष्ट्रिय त्रिपिटक पाठ शनिबार सम्पन्न भएको छ।

    अखिल नेपाल भिक्षु महासङ्घको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाको सहआयोजनामा मायादेवी मन्दिर परिसरमा त्रिपिटक पाठ सम्पन्न गरिएको हो।

    समापन समारोहमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्धका उपदेशलाई विश्वभर फैलाउन आग्रह गरे। उनले बुद्धको शिक्षा र उपदेशलाई आत्मसात् गरी शान्ति, करुणा, र सहअस्तित्वको भावना फैलाउनु आवश्यक रहेको बताए।

    प्रकाशित : आइतबार, २५ फाल्गुन २०८१ , ०४:३३ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend