logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

रविलाई राजावादी आन्दोलनमा साथ दिन दुर्गा प्रसाईँको आग्रह

रविलाई राजावादी आन्दोलनमा साथ दिन दुर्गा प्रसाईँको आग्रह


  • मंगलबार, फाल्गुन २७ २०८१
  • 806
    SHARES

    लोकसारथि, २७ फागुन । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले लोकतान्त्रिक राजतन्त्रको आवश्यकतालाई जोड दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई राजावादी आन्दोलनमा साथ दिन आग्रह गरेका छन्।

    भक्तपुरस्थित आफ्नो निवासमा मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले व्यवस्था परिवर्तनबिना समृद्धि असम्भव रहेको बताएका छन्। उनले भने, “हामीलाई साथ दिनुस्, पहिले व्यवस्था परिवर्तन गरौँ, अनि मात्रै विकास सम्भव छ।”

    प्रसाईंले विगतमा लामिछानेलाई पक्राउ गरेर हिरासतमा राख्दा आफूहरूले विरोध गरेको स्मरण गराउँदै लोकतान्त्रिक राजतन्त्र नै मुलुकको स्थायित्वको लागि उपयुक्त व्यवस्था हुन सक्ने तर्क प्रस्तुत गरे।

    उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सक्रिय राजनीति फिर्ता गराउन आफूले प्रयास गरिरहेको दाबी गरे। साथै, कमल थापा र राजेन्द्र लिङ्देनले २०७२ सालमा संविधानमा हस्ताक्षर नगरेको भए राजसंस्था हट्ने थिएन भन्ने तर्क राख्दै अहिलेको अस्थिर राजनीतिक परिस्थितिमा लोकतान्त्रिक राजतन्त्र विकल्प हुन सक्ने बताए।

    नेपालमा हाल राजनीतिक दलहरूबीच असन्तोष र भ्रष्टाचार व्यापक रहेको सन्दर्भ उठाउँदै उनले राजसंस्थालाई लोकतान्त्रिक प्रक्रियासँग समायोजन गर्दै स्थिर शासन व्यवस्थाको स्थापना गर्नुपर्ने आवश्यकतालाई जोड दिए।

    प्रसाईंको यो भनाइले अहिलेको राजनीतिक बहसलाई थप तातेको छ। लोकतान्त्रिक राजतन्त्रको पक्षमा समर्थन र विरोध दुवै देखिएको अवस्थामा, यो विषयले आगामी दिनमा थप चर्को बहस सिर्जना गर्ने सम्भावना छ।

    प्रकाशित : मंगलबार, २७ फाल्गुन २०८१ , ०६:१७ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend