logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

जिल्ला प्रशासन कार्यालय गुल्मीमा राष्ट्रिय परिचयपत्र बनाउनेको भिड बढ्यो

जिल्ला प्रशासन कार्यालय गुल्मीमा राष्ट्रिय परिचयपत्र बनाउनेको भिड बढ्यो


  • सोमबार, चैत्र ४ २०८१
  • 2.2K
    SHARES

    लोकसारथि, ४ चैत । पछिल्ला दिनहरूमा जिल्ला प्रशासन कार्यालय गुल्मीमा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीहरूको अत्यधिक भिड बढेको छ । कार्यालयका अनुसार, एकै दिन ३ सयभन्दा बढी व्यक्तिले सेवा लिएको र यो अहिलेसम्मकै धेरै भएको जनाएको छ ।

    जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार, आइतबार मात्र ३ सय ३ जनाले राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा लिएका छन् । जसमध्ये १३७ जनाले नयाँ विवरण दर्ता गराएका छन्, १५१ जनाले परिचयपत्र प्राप्त गरेका छन्, भने १५ जनाले विवरण त्रुटि सच्याउने काम गराएका छन् ।

    फागुन २७ गतेदेखि ३ दिनसम्म राष्ट्रिय परिचयपत्रको सर्भरमा समस्या देखिएर सेवा अवरुद्ध बनेको थियो । आइतबारबाट सर्भर सुचारु भएपछि सेवाग्राहीको चाप अत्यधिक बढेको हो । पछिल्लो एक सातामा मात्रै १ हजार ३ सय बढी नागरिक राष्ट्रिय परिचयपत्र सेवाका लागि जिल्ला प्रशासन कार्यालयमा पुगेका छन् ।

    सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने नीति लिएपछि सेवाग्राहीको चाप बढेको हो । हाल प्रशासन कार्यालयमा ३ वटा स्टेसनबाट राष्ट्रिय परिचयपत्र बनाउने कार्य भइरहेको छ । तर, सेवाग्राहीको संख्या दोब्बरले वृद्धि हुँदा व्यवस्थापनमा समस्या देखिएको छ ।

    जिल्लामा हालसम्म करिब ८० हजार बढी नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण भइसकेको छ । साथै, २ लाख १० हजार बढीले विवरण दर्ता गराएका छन्, जसमध्ये १ लाख ८९ हजारको परिचयपत्र बनेर आएको छ ।

    राष्ट्रिय परिचयपत्र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा समावेश भएका नागरिकका जैविक र वैयक्तिक विवरणको आधारमा उत्पादित बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हो । यसमा नागरिकका व्यक्तिगत विवरण जस्तै नाम, ठेगाना, जन्म मिति, बुबा–आमाको नाम, हजुरबुबा–आमाको नाम, श्रीमान्(श्रीमती) को नाम, स्थायी(अस्थायी) ठेगाना समावेश हुन्छ । साथै, जैविक विवरणमा औँठाछाप, आँखाको नानीको फोटो, अनुहारको डिजिटल फोटो, र हस्ताक्षर राखिएको हुन्छ ।

    राष्ट्रिय परिचयपत्र नागरिकका सेवा सुविधासँगै अपराध नियन्त्रणमा पनि महत्वपूर्ण मानिन्छ । विवरण दर्ता गर्दा नागरिकता तथा आवश्यक कागजात आवश्यक पर्छ भने परिचयपत्र वितरण गर्दा पुनः जैविक विवरण चेकजाँच गरिने भएकाले सम्बन्धित व्यक्तिले नागरिकता र विवरण सङ्कलन गर्दाको सक्कली रसिद लिएर आउनुपर्ने हुन्छ ।

    प्रकाशित : सोमबार, ४ चैत्र २०८१ , ०७:१६ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend