logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

पोखरामा कोटीहोम स्थलको विवाद टुङ्गियो, अब बिरौटामा संचालन गरिने

पोखरामा कोटीहोम स्थलको विवाद टुङ्गियो, अब बिरौटामा संचालन गरिने


  • सोमबार, चैत्र ११ २०८१
  • 1.3K
    SHARES

    पोखरा: पोखरामा लामो समयदेखि विवादको विषय बनेको कोटीहोम स्थलको स्थान अन्ततः पोखरा–१७, बिरौटामा तय गरिएको छ। मानव सेवा फाउन्डेसनले फेवाताल किनार वाराही घाटमा कोटीहोम गर्न लागेपछि यो विषय विवादित बनेको थियो। अब पोखरा महानगरपालिकाको नगरकार्यपालिकाको बैठकले उक्त आयोजक फाउन्डेसनलाई बिरौटामा कोटीहोम सन्चालनको अनुमति दिएको हो।

    शुक्रबार पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्यले फाउन्डेसनलाई अनुमति पत्र प्रदान गर्दै, पोखरा–१७ स्थित श्री सदा शिवजी शिद्धेश्वर हरिहर मन्दिरको गुठी जग्गामा ऐतिहासिक श्री गण्डकी शत्कुण्डीय गायत्री कोटीहोम बिराट ज्ञानमहायज्ञ संचालन गर्न अनुमति दिइएको जानकारी दिएका छन्।

    कार्यक्रम संचालनका लागि केहि विशेष शर्तहरू पनि राखिएको छ। जसमा, आयोजकले वातावरणमा प्रतिकूल प्रभाव नपर्नेगरी कार्यक्रम संचालन गर्नुपर्ने, उत्सर्जन भएको फोहोर व्यवस्थापन गर्नुपर्ने, स्थानीयवासीको आवतजावतबाट गुनासो नआउने व्यवस्था मिलाउनुपर्ने र सार्वजनिक सूचना तथा ब्यानर कार्यक्रम समाप्तिपछि हटाउनुपर्ने जस्ता शर्तहरू समावेश छन्। साथै, आयोजकलाई रोडक्रस स्वागतद्वार निर्माण गर्न र माइकिङ गर्नको अनुमति दिइएको छैन।

    कोटीहोम कार्यक्रमको स्थल २२ रोपनी क्षेत्रफलमा रहेको छ र यसको आसपासको क्षेत्र मिलाएर करिब एक सय रोपनीमा कार्यक्रम संचालन गरिने जानकारी आयोजकले दिएका छन्। कार्यक्रमको व्यवस्थापनको जिम्मा आयोजक मानव सेवा फाउन्डेसन नेपालका मिडिया संयोजक लेखनाथ ढकालले लिएका छन्।

    कोटीहोमको आगामी १७ वैशाखदेखि २६ जेठसम्म संचालन हुने जानकारी दिइएको छ, जसको पूर्वसन्ध्यामा १७ चैतदेखि प्रारम्भिक कार्यक्रम सुरु हुनेछ।

    यस अघि २३ फागुनमा बाराहीघाटमा कोटीहोम महायज्ञको भूमि पुजन गर्ने क्रममा पोखरा महानगरपालिकाका नगरप्रहरीले भूमि पुजन रोक्न खोजेपछि झडप भएको थियो। त्यसपछि पोखराका मेयर धनराज आचार्यका आह्वानमा एक बैठक आयोजना गरिएको थियो, जसमा कोटीहोम सञ्चालनको निर्णय गर्दै समस्या समाधान समिति गठन गरिएको थियो।

    प्रकाशित : सोमबार, ११ चैत्र २०८१ , ०५:५३ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend