लोकसारथि, १२ चैत । सनातन धर्ममा विशेष स्थान राख्ने पापमोचनी एकादशी व्रत आज भक्तिपूर्वक मनाइँदैछ। हरेक वर्ष चैत्र कृष्ण एकादशीका दिन मनाइने यो व्रतले जानी नजानी गरिएका पाप नाश हुने विश्वास गरिन्छ। आज भगवान् विष्णुको विशेष पूजा-अर्चना गर्दै भक्तजनहरूले व्रत बस्ने परम्परा रहेको छ।
पौराणिक कथा अनुसार पापमोचनी एकादशीको महत्व
पापमोचनी एकादशीको महिमा भगवान् श्रीकृष्णले महाराज युधिष्ठिरलाई तथा लोमस ऋषिले मान्धाता राजालाई वर्णन गरेको उल्लेख पाइन्छ। धार्मिक ग्रन्थहरू अनुसार, यो एकादशी व्रतको प्रभावले मानिसले आफ्नो जीवनमा अन्जानमा गरिएका पापकर्म नष्ट गर्न सक्ने विश्वास गरिन्छ।
एक प्राचीन कथाका अनुसार, वसन्त ऋतुमा अप्सराहरू रमाउने ‘चैत्ररथ’ नामक एक सुन्दर वन थियो। सोही वनमा च्यवन ऋषिको आश्रम रहेको थियो, जहाँ मेधावी नाम गरेका ऋषि कठोर तपस्यामा संलग्न थिए।
तर, मञ्जुघोषा नामकी एक अप्सराले ऋषिलाई मोहनीमन्त्रले मोहित पार्न सफल भइन्। कामदेवको प्रभावमा परेका मेधावी ऋषि आफ्नो तपस्या बिर्सिएर मञ्जुघोषासँग रमाउन थाले। ५५ वर्ष, नौ महिना, तीन दिन बितिसकेको थियो, तर उनीहरूलाई त्यो समय बितेको भानसमेत भएन।
जब मञ्जुघोषा स्वर्ग फर्कन चाहिन्, तब मेधावी ऋषिलाई आफ्नो गल्तीको महसुस भयो। आफ्नो सम्पूर्ण तपस्या, धर्म, नियम-आचरण सबै समाप्त भएको देखेर क्रोधित हुँदै उनले मञ्जुघोषालाई ‘पिशाचिनी’ बन्ने श्राप दिए।
श्रापबाट डराएको मञ्जुघोषाले ऋषिलाई आफ्नो मुक्ति उपाय बताउन बिन्ती गरिन्। त्यसपछि मेधावी ऋषिले चैत्र महिनाको कृष्णपक्षमा पर्ने पापमोचनी एकादशीको व्रत गर्नाले पाप नाश हुने बताए। उक्त व्रत गरेको कारण मञ्जुघोषा अप्सराले श्रापबाट मुक्ति पाइन् र पुनः स्वर्ग फर्किन्। उता, मेधावी ऋषिले पनि व्रत गरी आफ्नो पूर्ववत् पुण्य प्राप्त गरेका थिए।
व्रतको महत्व र फल
सनातन धर्म अनुसार, यो व्रतले मन, वचन, कर्मबाट भएका पापकर्महरू नष्ट गरी पुण्य प्राप्त गराउँछ। यस एकादशीको माहात्म्य सुन्नाले मात्र पनि हजार गाई दान गरेबराबर पुण्य मिल्ने उल्लेख गरिन्छ। पापमोचनी एकादशी व्रतले मनोकामना पूर्ण हुने, धार्मिक पुण्य प्राप्त हुने र जीवनमा शुद्धता कायम हुने जनविश्वास रहेको छ।
व्रत विधि
- पापमोचनी एकादशीको दिन व्रतीले बिहानै उठेर स्नान गरी शुद्ध वस्त्र धारण गर्छन्।
- भगवान् विष्णुको पूजा-अर्चना गरी तुलसी पत्र, फलफूल, फूल, दीप तथा नैवेद्य चढाइन्छ।
- दिनभरि निराहार वा फलाहार व्रत बसिन्छ।
- रातभर जाग्राम गर्दै विष्णु सहस्रनाम, श्रीमद्भगवद्गीता वा अन्य धार्मिक ग्रन्थको पाठ गरिन्छ।
- द्वादशी तिथिमा ब्राह्मण भोजन गराई व्रत समापन गरिन्छ।
समाजमा यस व्रतको प्रभाव
पापमोचनी एकादशी व्रतले मानिसलाई धार्मिक मार्गमा उन्मुख गराउने विश्वास गरिन्छ। आध्यात्मिक रूपमा शुद्ध भई समाजमा नैतिकता कायम राख्न, पापकर्मबाट मुक्त हुन, तथा भगवान् विष्णुको कृपा प्राप्त गर्न यो व्रत अत्यन्त प्रभावकारी मानिन्छ।
यसै कारण, सम्पूर्ण सनातनीहरूले यो पवित्र एकादशी व्रत विधिपूर्वक पालन गरी धर्म र पुण्यको लाभ उठाउने परम्परा रहेको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
