logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

काठमाडौं महानगरपालिकामा प्रशासनिक संकटः मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृतबीच पुनः विवाद

काठमाडौं महानगरपालिकामा प्रशासनिक संकटः मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृतबीच पुनः विवाद


  • बिहिबार, चैत्र २१ २०८१
  • 2.1K
    SHARES

    लोकसारथि, २१ चैत । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ कार्यालयमा उपस्थित भएका छन्। उनी तीन महिना १४ दिनपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशनपछि कार्यालय पुगेका हुन्। कार्यालय प्रवेशको क्रममा उनी नगरप्रहरीको अवरोध पार गर्दै भित्र पुगेका थिए।

    महानगर उपप्रमुख सुनिता डंगोल, कार्यपालिका सदस्यहरू, वडाध्यक्षहरू र कर्मचारीहरूले गुरागाईँलाई साथ दिएका थिए। तर, मेयर बालेन साहले गुरागाईँको कार्यकक्षमा चावी लगाउने निर्देशन दिएका थिए, जसले कार्यालयभित्र नै थप तनाव सिर्जना गर्यो। कार्यालय प्रवेश पाएपछि उपप्रमुख डंगोल, वडाध्यक्षहरू लगायत सबैजना बोर्ड बैठक हलमा छलफलका लागि बसेका थिए।

    उपप्रमुख डंगोलले मेयर बालेन साहको चर्को आलोचना गर्दै प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेश गर्न नदिनु गैरकानुनी भएको बताइन्। उनले भनिन्, “हामी सबै आम नागरिकको सेवामा तल्लिन हुनुपर्छ। प्रमुख प्रशासकीय अधिकृतलाई छानबिन गर्नु छ भने कानुनी प्रक्रियामा जानुपर्छ, यसरी कार्यालय प्रवेशमै रोक लगाउनु गलत हो।”

    महानगरका प्रवक्ता नविन मानन्धरलगायत वडाध्यक्षहरूले पनि मेयर साहको व्यवहारको आलोचना गरेका छन्। उनीहरूका अनुसार प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थितिका कारण महानगरपालिकाका कर्मचारीहरूले तीन महिनादेखि तलब नपाएका छन्। साथै, विभिन्न सेवा प्रवाहमा समस्या आएको छ, जसले आम महानगरवासीलाई दुःख पुर्‍याएको छ।

    नगरप्रहरी प्रमुख राजु पाण्डेले उपप्रमुख डंगोलको प्रश्नमा गोलमटोल जवाफ दिँदै मेयरको मौखिक आदेशमा कार्यकक्षमा चावी लगाएको स्वीकारे।

    कर्मचारीहरू, वडाध्यक्षहरू र अन्य सरोकारवालाहरूले मेयर साहको यस किसिमको ‘स्टन्ट’ शैलीको विरोध गरेका छन्। उनीहरूको माग छ कि प्रमुख प्रशासकीय अधिकृत गुरागाईँलाई कार्यालयमा नियमित रूपमा काम गर्न दिइयोस् र अवरुद्ध प्रशासनिक प्रक्रिया पुनः सुचारु गरियोस्।

    —लोकसारथि

    प्रकाशित : बिहिबार, २१ चैत्र २०८१ , १२:५६ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend