logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

चैते दसैंका अवसरमा देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो, विशेष पूजा–आराधना

चैते दसैंका अवसरमा देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो, विशेष पूजा–आराधना


  • शनिबार, चैत्र २३ २०८१
  • 1.2K
    SHARES

    लोकसारथि, २३ चैत । चैते दसैंको अवसरमा आज बिहानैदेखि देशभरका प्रमुख शक्तिपीठहरूमा भक्तजनको घुइँचो लागेको छ। उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, श्वेतकाली, रक्तकाली, कलङ्कीमाई, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, नरदेवी, सुन्दरीमाई, चामुण्डादेवी लगायतका मन्दिरहरूमा दर्शन तथा पूजा गर्ने भक्तहरूको भीड लागेको छ।

    त्यस्तै, उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, बागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायतका शक्तिपीठमा पनि बिहानैदेखि श्रद्धालुको बाक्लो उपस्थिति देखिएको छ।

    चैत्र शुक्ल पक्षमा पर्ने चैते दसैंलाई चैत्र नवरात्र पनि भनिन्छ। यस पर्वमा शक्तिपीठहरूमा गई पूजा–आराधना तथा दर्शन गरेमा शक्ति प्राप्त हुने धार्मिक विश्वास रहेको छ। वर्षमा चारपटक मनाइने नवरात्रमध्ये आश्विन र चैत्रमा पर्ने दुबै नवरात्र विशेष मानिन्छन्। यस अवधिमा दुर्गा भगवतीको विशेष आराधना गरिन्छ।

    नवरात्रभर साधनामा बस्ने भक्तजनले नौ दिनसम्म दुर्गा देवीको पूजा आराधना गर्ने गर्दछन् भने अन्यले चैत्र शुक्ल अष्टमीका दिन मात्र शक्तिपीठ पुगेर पूजा गर्ने परम्परा छ।

    यसपालिको चैत्र अष्टमी शनिबारका दिन परेकोले पनि भक्तजनको उपस्थिति झनै बढेको देखिएको छ। सामान्य शनिबारमा पनि विशेष चहलपहल हुने गुह्येश्वरी मन्दिरमा आजको दिन बिहानैदेखि श्रद्धालुको भीड उल्लेख्य रहेको छ। गुह्येश्वरीका स्थानीयवासी एवं ज्योतिष हरिप्रसाद सोडारीका अनुसार बिहानैदेखि दर्शनार्थीको सन्तत आगमन भइरहेको छ।

    पर्वको अवसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने स्थानीय प्रशासन र स्वयंसेवकहरूद्वारा भक्तजनको व्यवस्थापनमा सहयोग पुर्याइँदैछ।

    प्रकाशित : शनिबार, २३ चैत्र २०८१ , ११:०७ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend