लोकसारथि, २३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको तीनकुनेमा भएको घटनाबारे निष्पक्ष छानबिन हुने स्पष्ट पारेका छन्। आज थाइल्याण्ड भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै न्यायिक छानबिन हुन पनि सक्ने, नहुन पनि सक्ने बताए।
‘सबै विषयमा न्यायिक छानबिन आवश्यक छैन’
तीनकुने घटनाबारे उठेको न्यायिक छानबिनको मागबारे प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले भने,
“छानबिन हुँदैछ। न्यायिक छानबिन हुन पनि सक्छ, नहुन पनि सक्छ। तर, छानबिन निष्पक्ष हुन्छ। सबै कुरामा न्यायिक छानबिन आवश्यक पनि हुँदैन।”
चैत १५ गते राजधानीको तीनकुनेमा राजावादी समूहले आयोजना गरेको प्रदर्शन हिंस्रक बनेपछि दुईजनाको ज्यान गएको थियो भने कयौं घाइते भएका थिए। प्रदर्शनका क्रममा सरकारी र निजी सम्पत्तिमा आगजनी र तोडफोड समेत भएको थियो।
घटनापछि राप्रपालगायत विपक्षी दलहरूले न्यायिक छानबिन समिति गठनको माग गर्दै आएका छन् भने सत्तारूढ गठबन्धनका नेताहरू भने समिति गठन नगर्ने पक्षमा देखिएका छन्।
शिक्षक आन्दोलनप्रति सकारात्मक धारणा
प्रधानमन्त्री ओलीले हाल भइरहेको शिक्षक आन्दोलनप्रति पनि प्रतिक्रिया दिए। उनले आन्दोलनलाई सकारात्मक रूपमा लिएको बताउँदै भने,
“शिक्षकहरूलाई म धन्यवाद दिन चाहन्छु, किनभने सरकारमाथि विश्वास गरेर उहाँहरू आन्दोलनमा आउनुभएको छ। नत्र पहिले किन आउनुभएन? यसपटक आवाज उठाएपछि सरकारले सुन्छ भन्ने विश्वास भएर आउनुभएको हो।”
उनको भनाइ अनुसार, शिक्षकहरूको यो आन्दोलन सरकारप्रति आशावादी सोच राखेर गरिएको हो र सरकारले त्यसलाई ध्यानपूर्वक लिएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
