logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

नयाँ वर्षको पूर्वसन्ध्यामा रामकृष्ण ढकालको ‘न्यू इयर इभ’ हुने, चलचित्र निर्माणमा समेत सक्रिय हुने घोषणा

नयाँ वर्षको पूर्वसन्ध्यामा रामकृष्ण ढकालको ‘न्यू इयर इभ’ हुने, चलचित्र निर्माणमा समेत सक्रिय हुने घोषणा


  • आइतबार, चैत्र २४ २०८१
  • 1.8K
    SHARES

    काठमाडौँ, चैत २४ – लोकप्रिय गायक रामकृष्ण ढकालले यस वर्षको नयाँ वर्षलाई लक्षित गर्दै राजधानी उपत्यकामा विशेष साङ्गीतिक प्रस्तुति दिने भएका छन्। चैत ३१ गते साँझ भक्तपुरको गठ्ठाघरस्थित जर्मन होम्समा ‘New Year Eve at German Homes with Ramkrishna Dhakal’ शीर्षकमा कार्यक्रम आयोजना हुने भएको हो।

    गायक ढकालले यसपटकको प्रस्तुति साङ्गीतिक ब्याण्डको साथमा हुने भएकाले दर्शकले नयाँपनको आभाष गर्न सक्ने बताएका छन्। “विगत केही वर्षदेखि नयाँ वर्षमा प्रस्तुति दिन पाएको थिइनँ, यसपटक उपत्यका लक्षित गरेर कार्यक्रम आयोजना गरेको हुँ,” ढकालले बताए।

    कार्यक्रम साँझ ६ बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुनेछ। साङ्गीतिक प्रस्तुतिसँगै कार्यक्रममा हास्य व्यङ्ग्य, नृत्य, र विविध मनोरञ्जनात्मक आयामहरू समेत समावेश गरिनेछ। मोडल रीमा विश्वकर्माले उद्घोषण गर्ने कार्यक्रममा करिब २ हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको आयोजकले जानकारी दिएको छ।

    ढकालले आगामी दिनमा चलचित्र निर्माणमा समेत हात हाल्ने योजना सार्वजनिक गरेका छन्। “आउँदो वर्ष म चलचित्र निर्माताका रूपमा प्रस्तुत हुँदैछु,” ढकालले बताए, “चलचित्रमा एउटा ग्रामीण भेगको कथालाई समेट्ने प्रयास हुनेछ।”

    सङ्गीत र चलचित्र दुवै क्षेत्रमा सक्रियता बढाउँदै गायक ढकालले यो नयाँ वर्ष स्वर, सन्देश र सिर्जनात्मकताले भरिएको बनाउने तयारी गरेका छन्। कार्यक्रमले सांगीतिक प्रेमीहरूलाई नयाँ ऊर्जा र उत्साह प्रदान गर्ने अपेक्षा गरिएको छ।

    प्रकाशित : आइतबार, २४ चैत्र २०८१ , १२:१७ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend