logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

शिक्षकको आन्दोलनप्रति झलनाथ खनालको समर्थन, माग सम्बोधन गर्न सरकारलाई चेतावनी

शिक्षकको आन्दोलनप्रति झलनाथ खनालको समर्थन, माग सम्बोधन गर्न सरकारलाई चेतावनी


  • बुधबार, चैत्र २७ २०८१
  • 1.3K
    SHARES

    लोकसारथि, २७ चैत । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आन्दोलनरत शिक्षकहरूको जायज माग तुरुन्त सम्बोधन गर्न सरकारसँग माग गरेका छन्।

    ७ दिनदेखि काठमाडौँमा जारी शिक्षक आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै उनले सरकारको उदासीनता प्रति आपत्ति जनाएका छन्। खनालले विज्ञप्ति जारी गर्दै शिक्षामा सुधारका लागि आन्दोलनरत शिक्षकहरूको माग वैधानिक, आवश्यक र तत्काल सम्बोधन योग्य रहेको बताएका छन्।

    ‘शिक्षा ऐन ल्याउने ग्यारेन्टी गर’

    विज्ञप्तिमा नेता खनालले भनेका छन्, “आन्दोलनरत शिक्षकहरूका मागहरूलाई अभिलम्ब सम्बोधन गर्न, शिक्षा ऐन ल्याउने कुराको ग्यारेन्टी गर्न, शैक्षिक क्षेत्रका सम्पूर्ण समस्याहरू समाधान गर्न र शिक्षकहरूलाई अभिलम्ब आ-आफ्ना विद्यालयमा फर्केर नियमित पठनपाठनमा संलग्न हुने सहज वातावरण तयार पार्न वर्तमान सरकारसँग जोडदार माग गर्दछु।”

    जनआन्दोलनको चेतावनी

    खनालले यदि सरकारले शिक्षकहरूको माग बेवास्ता गर्न जारी राखेमा सरकारविरुद्ध अझ फराकिलो जनआन्दोलन उठ्न सक्ने चेतावनीसमेत दिएका छन्। “सरकारले आदरणीय शिक्षकहरूका मागहरू सम्बोधन नगरेको खण्डमा सरकारका विरुद्ध अझ फराकिलो दायराबाट जनआन्दोलन उठ्ने कुराको चेतावनी दिन चाहन्छु,” विज्ञप्तिमा उल्लेख छ।

    शिक्षक आन्दोलन सातौं दिनमा

    नयाँ शिक्षा ऐन र शिक्षकको सरुवा तथा पदस्थापन सम्बन्धी व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै देशभरका शिक्षकहरू काठमाडौँमा सातौं दिनदेखि आन्दोलनरत छन्। सरकारले आन्दोलनप्रति चासो नदेखाएको भन्दै विभिन्न दलका नेताहरूले सरकारलाई दबाव दिन थालेका छन्।

    प्रकाशित : बुधबार, २७ चैत्र २०८१ , ०२:३७ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend