लोकसारथि, २७ चैत । जीवनका निरन्तर चुनौती, पीडा, असफलता र अन्ततः मृत्युको यथार्थलाई आत्मस्वीकृतिपूर्वक आत्मसात गर्दै पनि “जिउने छ प्रयास जारी” भन्ने अठोट बोकेको एक भावुक गीत हो।
गीतले जीवनको अन्तिम सत्य — मृत्यु — सँगको लुकामारीलाई चित्रण गर्दै, जीवनभरको दौडधूप, खाली हात फर्किने अनुभूति र नियतिको कठोर खेलको वयान गर्छ। “मनैभरि छ पिरको भारी, तर जिउने छ प्रयास जारी” जस्ता पंक्तिले गीतको मुख्य भाव प्रकट गर्छ — जति गारो भए पनि जीवन त्याग्न हुँदैन, संघर्ष गर्नैपर्छ।
गीतमा व्यक्त विचारले समकालीन मानिसको जीवनयापनका कठिनाई, भाग्य र कर्मको द्वन्द्व, सामाजिक बेथिति, शून्यता, र अन्ततः आत्मस्वीकृतिको गहिरो सन्देश दिन्छ। “मै हुँ भन्थें केकानी रहेछु है कठपुतली” जस्तो मार्मिक अभिव्यक्तिले मानिसको आफ्नो अस्तित्वप्रतिको संशय र नियतिको नियन्त्रणमा रहेको अनुभूतिलाई उजागर गर्छ।
यो सिर्जनामा जीवनलाई तुच्छ वा निराशाजनक होइन, स्वीकार्य रूपमा हेर्न आग्रह गरिएको छ। चाहे राजा होस् वा भिखारी, सन्त होस् वा व्यापारी — कसैलाई समय, रोग र मृत्युले छुट दिँदैन। तर, यत्तिकै हार नमान्ने आशावादिता गीतको आत्मा हो।
समग्रमा, गीतले हाम्रो दैनिकीका पीडा र निराशालाई शब्दमा बाँधेर, आशाको एउटै लहर चलाउने प्रयास गर्छ — “तर जिउने छ प्रयास जारी”। यो सिर्जना केवल कविता होइन, यो हो जीवनको सार।
गीत : जिउने छ प्रयास जारी
मनैभरि छ पिरको भारी
तर जिउने छ प्रयास जारी
जान्छ एकदिन जीवन हारी
गर्छ मृत्युले जित्ने तयारी
समयको चक्रले जीवनकथै मेटाइदिने
छुटाउने दिन तोकी प्रियसँग भेटाइदिने
आँसु र खुशी खेल्छ लुकामारी
तर जिउने छ प्रयास जारी
मै हुँ भन्थें केकानी रहेछु है कठपुतली
समयले खाइदिन्छ के अर्थ जीवन फली
रित्तिन्छ छिनमै हर प्राणधारी
तर जिउने छ प्रयास जारी
हाथ लाग्छ शून्य खै अर्बाैंको हिसाब
आफैँ लेख्दछ मान्छे कर्मको किताब
जीवन बिताउँछ केही नबिचारी
तर जिउने छ प्रयास जारी
राजा या भिकारी कसैलाई छुट छैन
भाग्यभन्दा धेरै मानिसलाई लुट छैन
रहन्न सन्त, रहन्न व्यापारी
तर जिउने छ प्रयास जारी
एक्लो भयो लाग्दैन मन त अब कतै
चारैतिरबाट चेपिने यही मान्छे कठै
कहिले त काल, कहिले बिमारी
तर जिउने छ प्रयास जारी
कर्कलाको पानी जीवनको छैन भर
लुक्ने ठाउँ पाइँदैन के गाउँ के शहर
विदा लिन्छन् प्यारा प्यारी
तर जिउने छ प्रयास जारी
—‘राधाचाकर’ राजू
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
