सान्टो डोमिङ्गो, डोमिनिकन रिपब्लिक – राजधानी सान्टो डोमिङ्गोस्थित ‘जेट सेट नाइटक्लब’ मा ७ अप्रिलको राति भएको दर्दनाक दुर्घटनामा मृत्यु हुनेको संख्या १८४ पुगेको छ। छत भत्किँदा भएको उक्त घटनाले देश शोकमा डुबेको छ, जसमा चर्चित कलाकारदेखि लिएर राजनीतिक र खेलकुद क्षेत्रका हस्तीहरूले ज्यान गुमाएका छन्।
उक्त रात प्रसिद्ध गायक रबी पेरेज प्रस्तुति दिइरहेका थिए। कार्यक्रमको क्रममा अचानक छतबाट धुलो झर्न थालेपछि केही सेकेन्डमै पूरै छत भत्किएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। यस दुर्घटनामा गायक पेरेजको निधन भएको पुष्टि भएको छ। उनको शव शुक्रबार बिहान उद्धार टोलीले फेला पारेको हो।
उनीसँगै स्याक्सोफोन बजाउने लुइस सोलिसको पनि मृत्यु भएको पुष्टि भएको छ। अहिलेसम्म ५४ वटा शवको पहिचान भइसकेको बताइएको छ।
राजनीतिक र खेलकुद क्षेत्रका प्रमुख व्यक्तित्वहरू गुमे
यस दुर्घटनामा मोन्टेक्रिस्टी प्रान्तकी गभर्नर नेल्सी क्रुजको पनि मृत्यु भएको छ। उनी सात पटक मेजर लिग बेसबल अल-स्टार खेलाडी नेल्सन क्रुजकी बहिनी थिइन्। घटनाको समय भग्नावशेषमा फसेकी नेल्सीले राष्ट्रपतिलाई स्वयं फोन गरेर अवस्था जानकारी गराएकी थिइन्। अस्पताल लैजाने क्रममा उनको ज्यान गयो।
यसबाहेक चर्चित बेसबल खेलाडी अक्टाभियो डोटेलको पनि घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ। उनले न्यूयोर्क मेट्स, ह्युस्टन एस्ट्रोस लगायत प्रमुख टोलीहरूसँग खेलेका थिए। उनलाई भग्नावशेषबाट जीवित उद्धार गरिएको थियो, तर अस्पताल पुग्नुअगावै निधन भयो।
अर्का बेसबल खेलाडी टोनी एनरिक ब्लान्को काब्रेराको पनि ज्यान गएको जनाइएको छ।
उद्धार कार्य अझै जारी
४८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि उद्धार कार्य जारी रहेको र अझै केही मानिस भग्नावशेषमा फसेको हुनसक्ने बताइएको छ। देशभर शोकको लहर फैलिएको छ भने राष्ट्रपति कार्यालयले राष्ट्रिय शोकको घोषणा गर्ने तयारी गरिरहेको बताइएको छ।
सरकारले घटनाको अनुसन्धान गर्न उच्चस्तरीय समिति गठन गरिसकेको छ। प्रारम्भिक रिपोर्ट अनुसार भवनको संरचनागत कमजोरीले यस्तो ठूलो दुर्घटना निम्त्याएको हुनसक्ने अनुमान गरिएको छ।
बीबीसी, CNN लगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले घटनालाई प्राथमिकताका साथ रिपोर्ट गरिरहेका छन्।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
