लोकसारथि, २९ चैत ।
नेपाली कांग्रेसकी सांसद नागिना यादवले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाका सन्दर्भमा दुर्गा प्रसाईंप्रति कडा आक्रोश व्यक्त गरेकी छन्। उनले यदि आफू त्यति बेला मन्त्री भएको भए दुर्गा प्रसाईंमाथि गोली चलाउन आदेश दिने बताएकी छन्।
शुक्रबार बसेको प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै सांसद यादवले भनिन्, “जुन हिसाबले निषेधित क्षेत्रमा जबरजस्ती छिर्ने काम भयो, यदि म मन्त्री भएको भए ‘सुट’ गर्देऊ भन्थेँ।”
सांसद यादवले घटनाको क्रममा प्रसाईंले सुरक्षा व्यवस्था उल्लंघन गर्दै सुरक्षाकर्मीलाई पेलेर हिंडेको, बुलेट प्रुफ गाडी चढेको र सुरक्षाकर्मीको गाडीको सिसा फुटाएको स्पष्ट पारिन्। “उ सर्वोपरि हो? जे गरे पनि भयो?” भन्दै उनले दुर्गा प्रसाईंको क्रियाकलापप्रति आक्रोश व्यक्त गरिन्।
त्यस दिन पहिला प्रहरीको हतियार खोसिएको समाचार आएको र त्यसपछि मात्र गोली चलेको बताउँदै सांसद यादवले भनिन्, “सबै प्रहरीको हतियार खोसेको भए के हुन्थ्यो? यो हदसम्मको अराजकताबारे अनुसन्धान हुनुपर्छ।”
उनले सुरक्षाकर्मीको असहज अवस्थातर्फ पनि ध्यानाकर्षण गराउँदै भनिन्, “विचरा सुरक्षाकर्मीहरूको हातमा एउटा लट्ठी र मोटरसाइकलको हेलमेट मात्रै। मैदानमा खटाउँदा उचित सुरक्षा उपकरण किन नदिएको?”
सांसद यादवले सुरक्षाकर्मीहरू पनि जनताको सुरक्षा गर्न खटिएका नागरिक भएको र उनीहरूमाथि ढुंगामुढा हानिएको देख्दा आफ्नो जिउ सिरिङ्ग हुने प्रतिक्रिया दिइन्। उनले प्रहरीलाई सुरक्षित राख्न राज्यले विशेष ध्यान दिनुपर्ने र अराजक गतिविधिमा संलग्न जो कोहीमाथि कडा कारबाही गर्नुपर्ने स्पष्ट धारणा व्यक्त गरिन्।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
