logo

शनिबार, २७ भाद्र २०८३

शनिबार, भाद्र २७ २०८३

रवि लामिछानेको रिटमाथि आज सर्वोच्चमा सुनुवाइ, उच्च अदालतको थुनामा पठाउने आदेशविरुद्ध रिट दायर

रवि लामिछानेको रिटमाथि आज सर्वोच्चमा सुनुवाइ, उच्च अदालतको थुनामा पठाउने आदेशविरुद्ध रिट दायर


  • आइतबार, चैत्र ३१ २०८१
  • 1.8K
    SHARES

    लोकसारथि संवाददाता / काठमाडौं, ३१ चैत
    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गोर्खा मिडिया प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेले उच्च अदालत तुलसीपुर, बुटवलको आदेशविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुने भएको छ।

    लामिछानेको रिट निवेदनमाथि आज आइतबार न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासमा सुनुवाइ तोकिएको छ। उनले आफूलाई पूर्पक्षका लागि थुनामा पठाउने उच्च अदालतको आदेश बदर गरी बाहिरबाटै मुद्दा लड्न पाउने माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्।

    यसअघि जिल्ला अदालत रूपन्देहीले सहकारी ठगी र संगठित अपराधको मुद्दामा लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। तर, उक्त आदेश उल्टाउँदै उच्च अदालत तुलसीपुर, बुटवलको इजलासले उनलाई पूर्पक्षका लागि थुनामा राख्नुपर्ने आदेश दिएको थियो।

    सहकारी ठगी मुद्दाको पृष्ठभूमि

    गत माघ ६ गते जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा लामिछानेलगायत ४२ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो। उनीहरूमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग लगाइएको छ।

    सरकारी वकिल कार्यालयका अनुसार १ अर्ब ४३ करोड ८६ लाख २ हजार १ सय ३५ रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको हो। सहकारीको रकम अपचलन गरेको अभियोगमा दर्ता भएको उक्त मुद्दामा लामिछानेमाथि पनि प्रत्यक्ष संलग्नता रहेको दाबी गरिएको छ।

    अदालतको निर्णयक्रम

    • माघ १३ गते: जिल्ला अदालत रूपन्देहीमा थुनछेक बहसपछि न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले रवि लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।

    • फागुन २२ गते: सरकारी वकिल कार्यालयले जिल्ला अदालतको आदेश खारेज गरी लामिछानेलाई थुनामा राख्नुपर्ने मागसहित उच्च अदालत तुलसीपुरमा निवेदन दिएको थियो।

    • फागुन २६ गते: रवि लामिछानेले पनि सो आदेशविरुद्ध उच्च अदालतमा निवेदन दर्ता गरेका थिए।

    • चैत २८ गते: उच्च अदालतले जिल्ला अदालतको धरौटी आदेश उल्टाउँदै लामिछानेलाई थुनामा राख्नुपर्ने निर्णय सुनाएको थियो।

    यसपछि चैत २९ गते रवि लामिछानेले सो आदेश बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

    सुनुवाइका लागि आज पेशी तोकिएको छ र यसले लामिछानेको आगामी कानुनी अवस्थाबारे ठोस संकेत दिने विश्वास गरिएको छ।

    प्रकाशित : आइतबार, ३१ चैत्र २०८१ , ०१:५० बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend