logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

प्रधानमन्त्री ओलीको नयाँ वर्ष सन्देश : “निराशा होइन, राष्ट्रप्रेम र सकारात्मक सोचको बाटोमा अघि बढौं”

प्रधानमन्त्री ओलीको नयाँ वर्ष सन्देश : “निराशा होइन, राष्ट्रप्रेम र सकारात्मक सोचको बाटोमा अघि बढौं”


  • सोमबार, बैशाख १ २०८२
  • 1K
    SHARES

    काठमाडौं, वैशाख १।

    प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना सन्देश दिँदै देशमा निराशा फैलाउने प्रवृत्तिविरुद्ध सतर्क रहन र राष्ट्रप्रेम, एकता तथा सकारात्मक सोचको बाटोमा अघि बढ्न सबै नेपालीलाई आह्वान गरेका छन्।

    प्रधानमन्त्री ओलीले देशमा केही भएन भन्ने भ्रामक मानसिकता र नकारात्मक दृष्टिकोणले मुलुकलाई गलत दिशामा लैजान सक्ने खतरा औँल्याउँदै त्यसलाई परास्त गर्न सबै नागरिकको साझा प्रयास आवश्यक रहेको उल्लेख गरेका छन्।

    “समृद्ध नेपाल, सुखी नेपाली हाम्रो साझा संकल्प”

    सन्देशमा उनले लेखेका छन्, “अनेकौं कठिनाइहरूका बाबजुद हामीले हासिल गरेका उपलब्धिहरूलाई आधार बनाएर हामी उज्यालो भविष्यतर्फ अगाडि बढ्न सफल हुने छौं भन्ने विश्वास लिएको छु। राष्ट्रको साझा आकांक्षा साकार पार्न सरकार एक्लैले मेहनत गरेर पुग्दैन, देशभित्र र बाहिर रहेका सबै नेपालीको साझा योगदान जरुरी छ।”

    प्रधानमन्त्री ओलीले जातीय, क्षेत्रीय, सांस्कृतिक र धार्मिक विविधतालाई राष्ट्रको साझा सम्पत्ति ठहर गर्दै विविधतालाई एकतामा रूपान्तरण गरेर राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन्।

    “विकास अब सपना होइन, यथार्थ बन्दैछ”

    सन्देशमा प्रधानमन्त्रीले ग्रामीण भेगसम्म पुगेको पूर्वाधार, जनजीवनमा परेको प्रत्यक्ष प्रभाव, सामाजिक सेवा प्रणालीमा भएका सुधारलाई लोकतान्त्रिक प्रणालीका उपलब्धि मानेका छन्। युवापुस्तालाई राष्ट्रको सम्भावना बताउँदै उनले सरकार उद्यमशीलता, प्रविधि, शिक्षा र स्वरोजगारमार्फत युवालाई आत्मनिर्भर बनाउने दिशामा अघि बढिरहेको बताएका छन्।

    “दिगो विकासको लागि प्रकृतिसँग मित्रता आवश्यक”

    ओलीले नयाँ वर्षमा प्रकृतिसँग मित्रता गर्ने संकल्प गर्नु आवश्यक रहेको भन्दै वातावरण संरक्षण विना दिगो विकास सम्भव नहुने धारणा व्यक्त गरे। “हरियाली, स्वच्छता, जलवायु सन्तुलन र प्रकृतिप्रति जिम्मेवार व्यवहारले मात्र हामी नयाँ पुस्तालाई सुरक्षित मातृभूमि हस्तान्तरण गर्न सक्छौं,” उनले सन्देशमा उल्लेख गरेका छन्।

    अन्त्यमा प्रधानमन्त्री ओलीले नयाँ वर्षलाई लोकतान्त्रिक परिवर्तनको उत्सवका रूपमा मनाउँदै मुलुकलाई प्रगतिपथमा अग्रसर गराउन सबै नेपालीलाई एक भएर अघि बढ्न आह्वान गरेका छन्।

    प्रकाशित : सोमबार, १ बैशाख २०८२ , ०४:३५ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend