काठमाडौँ, लोकसारथि
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले निलम्बित स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डेलाई आलोचना त्यागेर पार्टीमा सक्रिय हुन आग्रह गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा करिब ४० मिनेटसम्म भएको भेटमा अध्यक्ष ओलीले पार्टीभित्र जिम्मेवारी दिन तयार रहेको तर त्यसका लागि अनुशासनमा रहेर काम गर्नुपर्ने शर्त राखेका छन्।
भेटका क्रममा ओलीले डा. पाण्डेलाई पार्टीभित्र फर्कन सहकार्यको प्रस्ताव गर्दै भने, “सकभर मिलेर जाऔं, पार्टीमा सक्रिय हुनुपर्छ।” तर, स्रोतका अनुसार पाण्डेले तत्कालै स्पष्ट रूपमा स्वीकृति जनाएकी छैनन्।
विवादको पृष्ठभूमि
डा. पाण्डेले गत वर्ष एमालेले भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङबाट कीर्तिपुरमा लिएको जग्गा दानप्रति टिप्पणी गरेपछि उनीमाथि कारबाही गरिएको थियो। उनले उक्त कार्यलाई “पाँच लाख कार्यकर्ताको शिर झुकाउने” कार्य भनेकी थिइन्।
पुस १० गतेको सचिवालय बैठकले डा. पाण्डेसँगै केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेको थियो भने, पूर्व उपाध्यक्ष डा. भीम रावललाई पार्टीबाट पूर्णतः निष्कासन गरिएको थियो। कारबाही अघि सबैलाई स्पष्टीकरण मागिएको थियो।
ओली–पाण्डे संवाद
भेटका क्रममा ओलीले डा. पाण्डेलाई कारबाहीबारे भने, “उपाध्यक्षहरूले तपाईंहरूको बारेमा मिसइन्फर्मेसन गरेका थिए।” तर, उनले कुन उपाध्यक्षले कस्तो गलत सूचना दिएको भन्नेबारे खुलाएनन्।
यसको जवाफमा डा. पाण्डेले प्रतिप्रश्न गरिन्, “त्यसो भए कारबाही हामीमाथि किन? मिसइन्फर्मेसन गर्नेहरूलाई पो कारबाही गर्नुपर्ने हो।“
ओलीले भने, “त्यस्तो नलेख्नुभएको भए हुन्थ्यो, नबोल्नुभएको भए हुन्थ्यो।“
पाण्डेले गुरुङको दानबारे आफ्नो अडान यथावत् रहेको भन्दै भनिन्, “तपाईंहरूले पनि त दान स्वीकार नगर्नुभएको भए हुन्थ्यो नि।“
पार्टी कार्यालय र ‘भुईँमान्छे’
असोज २५ गते, प्रधानमन्त्री ओलीले कीर्तिपुरको मैत्रीनगरमा मीनबहादुर गुरुङबाट प्राप्त १० रोपनी १४ आना जग्गामा एमाले केन्द्रीय कार्यालयको भवनको शिलान्यास गरेका थिए। गुरुङले उक्त जग्गामा भवन निर्माण गरिदिने र अर्को वर्षको दसैंमा उद्घाटन गरिने घोषणा गरेका छन्।
भेटको अन्त्यमा डा. पाण्डेले आफ्नो हालै प्रकाशित पुस्तक ‘भुईँमान्छे’ प्रधानमन्त्री ओलीलाई उपहारसमेत दिएकी थिइन्।
निष्कर्ष
ओली र पाण्डेबीचको यो भेटलाई एमालेभित्र पुनः समन्वयको प्रयासका रूपमा हेरिएको छ। तर डा. पाण्डेले पार्टी नेतृत्वप्रति आफ्ना आलोचनात्मक धारणा यथावत राखेकी हुँदा पार्टी एकता पुनःस्थापना सहज नहुन सक्ने संकेत देखिएको छ।