logo

आइतबार, २८ भाद्र २०८३

आइतबार, भाद्र २८ २०८३

सभापति देउवाले नचाहेसम्म सरकार नढल्ने : नेता डा. गोविन्द पोखरेल

सभापति देउवाले नचाहेसम्म सरकार नढल्ने : नेता डा. गोविन्द पोखरेल


  • शुक्रबार, बैशाख ५ २०८२
  • 1K
    SHARES

    काठमाडौँ — नेपाली कांग्रेसका नेता डा. गोविन्द पोखरेलले पार्टी सभापति शेरबहादुर देउवाको इच्छा विपरीत हालको सत्ता गठबन्धनमा कुनै परिवर्तन नहुने स्पष्ट पारेका छन्।

    शुक्रबार नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको संवादमा नेता पोखरेलले वर्तमान सरकारप्रति कांग्रेसभित्र असन्तुष्टि रहे पनि तत्काल सत्ता समीकरण परिवर्तन नहुने बताएका हुन्।

    उनले नेकपा एमालेको मात्र सरकार भएको झल्को दिने खालका गतिविधिहरू कांग्रेसभित्रका नेताहरूलाई मन नपरेको स्पष्ट पारे। “कांग्रेसभित्रका धेरै नेताहरूले सरकारको व्यवहारप्रति चित्त नबुझेको देखिन्छ,” उनले भने।

    ‘महामन्त्रीहरू धैर्यमा, तर दबाब दिन थालेका छन्’

    नेता पोखरेलले पार्टी महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले सरकारलाई सहि मार्गमा ल्याउने प्रयास गरे पनि हाल आएर उनीहरू समेत सरकारमाथि दबाब दिन थालेको उल्लेख गरे।
    “महामन्त्रीद्वयले एक हदसम्म सरकारलाई ट्र्याकमा ल्याउने प्रयास गर्नुभयो,” पोखरेलले भने, “तर पछिल्लो डेढ हप्तादेखि उहाँहरू समेत सरकारमाथि आलोचनात्मक हुँदै गइरहनु भएको छ। सम्भवतः नेताहरूको यो दबाबले कोर्स करेक्सन गराउला।”

    शिक्षक आन्दोलनप्रति सरकार संवेदनशील छैन

    नेता पोखरेलले शिक्षकहरूको आन्दोलनप्रति कांग्रेसले गम्भीर धारणा बनाएको तर सरकारले भने त्यसलाई खेलौना सरह व्यवहार गरिरहेको आरोप लगाए।
    “शिक्षक आन्दोलनलाई कांग्रेसले व्यक्तिगत तथा संस्थागत रूपमा गम्भीर रुपमा लिएको छ,” उनले भने, “तर दुई–दुई हप्तासम्म गुरुहरू सडकमा हुँदा पनि सरकार चुप लागेर बसेको छ, जुन गैरजिम्मेवाराना हो।”

    उनले कांग्रेसले सरकारमाथि आवश्यक दबाब दिएको उल्लेख गर्दै चाँडै समाधान निस्कने आशा व्यक्त गरे।

    प्रकाशित : शुक्रबार, ५ बैशाख २०८२ , ११:०४ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend