logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

दुई दशकअघि बेपत्ता पारिएकाहरुको परिवारले गर्न थाले अन्तिम संस्कार

दुई दशकअघि बेपत्ता पारिएकाहरुको परिवारले गर्न थाले अन्तिम संस्कार


  • शनिबार, बैशाख २० २०८२
  • 962
    SHARES

    – लोकसारथि संवाददाता, काठमाडौं ।

    सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था अझै सार्वजनिक नभएपछि पीडित परिवारले आफन्तहरूको थारु परम्पराअनुसार अन्तिम संस्कार गर्न थालेका छन्।

    दुई दशकभन्दा बढी समयसम्म पनि तत्कालीन राज्य र विद्रोही पक्षले बेपत्ता बनाएका व्यक्तिको अवस्थाबारे चासो नदेखाएपछि थारु समुदायका परिवारहरूले क्रमशः कुशको शव बनाई अन्तिम संस्कार गर्ने परम्परागत विधि अपनाउन थालेका हुन्।

    बारबर्दिया नगरपालिका–७, सोनपुरका ३८ वर्षीय रामदास थारु २०५८ चैत २६ गते नेपाली सेनाले इलाका हुलाक कार्यालय, भुरिगाउँबाट पक्राउ गरी बेपत्ता बनाएका थिए। २३ वर्षसम्म पतिको अवस्थाबारे कुनै जानकारी नपाएपछि पीडित परिवारले २०८१ चैत २७ गते अन्तिम संस्कार गरेको हो।

    त्यसैगरी, सोही क्षेत्रका टेटराम थारुलाई २०५९ साउन २४ गते सेनाले घरबाटै लगेर बेपत्ता पारेको थियो। श्रीमती रामदुलारी थारुका अनुसार वर्षौँसम्म पतिको पर्खाइमा बसे पनि कुनै जानकारी नआएपछि अन्ततः चैत २० गते अन्तिम संस्कार गरिएको हो।

    बारबर्दिया–७ कै जंगु थारुको परिवारले चैत १५ गते, हरिप्रसाद थारुको परिवारले चैत १२ गते कुशको शव बनाई थारु संस्कारअनुसार अन्तिम बिदाइ दिएका छन्।

    पीडितहरूका अनुसार बेपत्ता अवस्था स्पष्ट नहुँदा उनीहरूले सामाजिक, आर्थिक, कानुनी र सांस्कृतिक रूपमा गम्भीर समस्याहरू भोग्दै आएका छन्।

    २०५९ साउन २४ र २६ गतेको बीचमा मात्र रम्भापुर ब्यारेकबाट आएको शाही नेपाली सेनाको टोलीले बारबर्दियाबाट ६ जना व्यक्तिहरूलाई लगेको अभिलेख मानव अधिकार संस्था इन्सेकले संकलन गरिसकेको छ। तर अझै पनि तिनको अवस्था सार्वजनिक भएको छैन।

    पीडित परिवारहरूले राज्यले आफ्नो पीडामाथि अर्को पीडा थपेको आरोप लगाउँदै यस्ता घटनामा सत्यको खोजीका लागि दबाब निरन्तर जारी राख्ने जनाएका छन्।

    प्रकाशित : शनिबार, २० बैशाख २०८२ , ०९:२५ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend