आज २०८२ सालको वैशाख २१ गते, अर्थात् २०२५ मे ४ तारिखका दिन, विश्वभर ‘विश्व हास्य दिवस’ (World Laughter Day) मनाइँदैछ। हरेक वर्ष मे महिनाको पहिलो आइतबार यो दिवस मनाउने गरिन्छ। हाँसो मानिसको सबैभन्दा प्राकृतिक, निःशुल्क र सशक्त औषधि हो, तर आधुनिक जीवनशैलीले मानिसलाई यति तनावग्रस्त बनाइदिएको छ कि उसलाई अन्तिमपटक कहिले खुलेर हाँसेको थियो भन्ने पनि सम्झन मुस्किल हुन्छ।
हास्य दिवसको सुरुवात
‘विश्व हास्य दिवस’ सन् १९९८ मा पहिलोपटक भारतको मुम्बईमा मनाइएको थियो। हास्य चिकित्सक डा. मदन कटारियाले ११ जनवरी १९९८ मा मुम्बईको ‘लाफ्टर क्लब’ मार्फत् यसको सुरुवात गरे। उद्देश्य थियो— हाँसोको शक्ति प्रयोग गरेर मानसिक तथा शारीरिक स्वास्थ्य सुधार गर्नु र विश्वभर सकारात्मक ऊर्जा फैलाउनु।
किन आवश्यक छ हाँस्नु?
आजको व्यस्त, यान्त्रिक र प्रतिस्पर्धात्मक जीवनशैलीले मानिसहरूलाई मानसिक तनाव, डिप्रेसन, एन्जाइटी, हाई ब्लड प्रेशर, हृदयघात र अनिद्राजस्ता समस्यामा फसाइरहेको छ। यस्ता समस्याको सरल, प्राकृतिक र सुरक्षित उपचारको रूपमा हाँसोको महत्त्व झनै बढेको छ।
वैज्ञानिक रूपमा हाँसोका फाइदा
१. इम्युन सिस्टम बलियो बनाउँछ: जोरजोरले हाँस्दा रक्तसञ्चार बढ्छ, एण्टीबडी र टी-कोशिकाहरू सक्रिय हुन्छन्, जसले रोग प्रतिरोधात्मक क्षमता सुधार गर्छ।
२. तनाव घटाउँछ: हाँसोले एन्डोर्फिन स्रावित गर्छ, जुन प्राकृतिक पेनकिलर हो। यसले कोर्टिसोलको मात्रा घटाउँछ, मानिसलाई हल्का र आनन्दित महसुस गराउँछ।
३. हृदयलाई फाइदा पुर्याउँछ: हाँसोले रक्तवाहिनिमा लोच बढाउँछ, र मुटुको धड्कन नियमित राख्छ। यसले ब्लड प्रेशर नियन्त्रणमा रहन्छ।
४. सामाजिक सम्बन्ध सुधार्छ: हाँसोले आत्मीयता बढाउँछ, समूहमा हाँस्दा सामूहिक सम्बन्ध बलियो बनाउँछ।
५. मस्तिष्कलाई ताजा बनाउँछ: हाँसोले डोपामिन, सेरोटोनिनजस्ता न्युरोट्रान्समिटर सक्रिय गर्छ, जसले ध्यान, स्मरण र सिर्जनशीलता बढाउँछ।
हास्य दिवस कसरी मनाउने?
हास्य कवितापाठ, चुट्किला कार्यक्रम, कमेडी फिल्म हेर्ने, हास्य ध्यान वा योगमा सहभागी हुने, साथीसँगी वा सहकर्मीहरूसँग रमाइलो गर्ने, र सामाजिक सञ्जालमा सकारात्मक सामग्री साझा गर्ने गरी यो दिवस मनाउन सकिन्छ।
विशेषज्ञहरू भन्छन्— यदि हामी दिनमा १० मिनेट खुलेर हाँस्न सक्यौं भने शरीर र मस्तिष्कमा चमत्कारी लाभहरू देखिन थाल्छन्। हाँसो केवल मनोरञ्जन नभएर स्वास्थ्यको प्रभावकारी उपाय हो।
प्राचीन अस्त्रको रूपमा हाँसो
विज्ञान र मनोविज्ञानका अनुसार, हाँसो केवल रमाइलो होइन, यो मानव विकासक्रममा अत्यन्त महत्वपूर्ण अस्त्र रहँदै आएको छ। यसले न केवल तनाव घटाउँछ, सम्बन्ध सुधार्छ, स्वास्थ्यमा सकारात्मक असर पार्छ, तर जीवनको अस्तित्व टिकाउन समेत महत्त्वपूर्ण छ।
सामाजिक संकेतका रूपमा हाँसो
प्रोफेसर जेनेट गिब्सनका अनुसार, मानव जातिको प्रारम्भिक सामाजिक जीवनमा हाँसो ‘सबै ठीक छ’ भन्ने संकेत थियो। बाँदर, कुकुरजस्ता स्तनधारीहरूमा पनि हाँसोजस्तै प्रतिक्रिया देखिन्छ, तर मानिसहरू शारीरिक सम्पर्कबिना पनि हास्न सक्छन्— यो हाम्रो मस्तिष्कको उन्नत क्षमताको प्रमाण हो।
मस्तिष्कको अद्भुत क्रिया
University College London की प्रो. सोफी स्कटका अनुसार, हाँसो मस्तिष्कका विभिन्न भाग मिलेर गर्ने क्रिया हो—
Frontal Lobe रमाइलो के हो निर्णय गर्छ,
Limbic System भावनात्मक प्रतिक्रिया उत्पन्न गर्छ,
र Motor Cortex आवाज र शारीरिक प्रतिक्रिया नियन्त्रित गर्छ।
“जब तपाईं हाँस्नुहुन्छ, छातीको सङ्कुचनले ‘हा-हा-हा’ आवाज निकाल्छ,” प्रो. स्कट भन्छिन्।
हाँसो र हार्मोन
जब हामी हाँस्दछौं, शरीरमा एन्डोर्फिन नामक ‘गुड हार्मोन’ स्रावित हुन्छ।
यसले दुखाइ घटाउँछ, कोर्टिसोल कम गर्छ, अड्रेनालिन घटाएर विश्राम दिन्छ, र दिमागलाई हल्का तथा सकारात्मक बनाउँछ।
सम्बन्धमा हाँसोको प्रभाव
University of California, Berkeley को दीर्घकालीन अध्ययन अनुसार, हँस्ने जोडीहरू अरूको तुलनामा दीर्घकालीन सन्तुष्ट सम्बन्धमा रहन्छन्। तनावपूर्ण परिस्थितिमा हाँसो मिसिँदा सम्बन्धमा सकारात्मकता र सहकार्यको वातावरण बनाउँछ। प्रो. स्कटका अनुसार, “यो संकेत हो कि ती मानिसहरू तनावका क्षणहरूलाई आपसी हाँसोबाट सहज बनाउन सक्छन्।”
अनुहारमा ४३ वटा मांसपेशी हुन्छन्
हाम्रो अनुहारमा लगभग ४३ वटा मांसपेशी हुन्छन्, जुनमध्ये अधिकांश सातौं कपालमूल स्नायु (Seventh Cranial Nerve) द्वारा नियन्त्रित हुन्छन्। यस स्नायुले मस्तिष्कको प्रान्तीय भाग (cerebral cortex) बाट सुरु भई कानको ठीक अगाडिको भागबाट बाहिरिन्छ र त्यहाँबाट पाँच मुख्य शाखामा विभाजित हुन्छ— टेम्पोरल, जाइगम्याटिक, बुक्कल, म्यान्डिबुलर र सर्भाइकल। यी शाखाहरू अनुहारका विभिन्न भागहरूमा पुगेर मांसपेशीहरूलाई सक्रिय गर्छन् जसले अनुहारलाई अनेक भावहरूमा फेरबदल गर्न सक्षम बनाउँछ।
तर अहिलेसम्म कसैले पनि यो निश्चित रूपले भन्न सकेको छैन कि मुस्कान वा Frown का लागि कति मांसपेशी लाग्छ। किनभने एक व्यक्तिको मुस्कान अर्काको लागि व्यङ्ग्य पनि हुन सक्छ। सबैको अनुहारमा मांसपेशीको संख्या समान हुँदैन। कसैको अनुहारमा मांसपेशीहरू बढी हुन्छन्, जसले विभिन्न भावहरू स्पष्ट देखाउन सक्छन्, भने कसैमा ४० प्रतिशत कम मांसपेशी पाइन्छ, जसले हाउभाउ सीमित बनाउँछ।
जब हामी अनुहारका हाउभाउ गर्छौं, हामी एक प्रकारको ‘सूचना प्याकेट’ प्रसारण गरिरहेका हुन्छौं, जुन अरूले ग्रहण गर्न, पढ्न र व्याख्या गर्न सक्छन्। अनुहारका मांसपेशीहरू विभिन्न तरिकाले खुम्च्याएर वा तन्काएर, हामी हजारौं प्रकारका सन्देशहरू दिन सक्छौं—जुन हाम्रो समग्र मानसिक अवस्था, तत्कालीन भावना, व्यक्तित्व, मुड, शारीरिक स्वास्थ्य, विश्वासयोग्यता, र हामीले अरूलाई कति विश्वास गर्छौं भन्ने कुरासमेत जनाउँछन्।
मुस्कान—चाहे जानाजानी होस् वा अनायासै—सांस्कृतिक रूपमा मित्रता, सद्भाव र स्वागतको संकेतका रूपमा लिइन्छ। त्यस्तै, फ्याक्सिनु सामान्यतः दुःख, असन्तोष वा अस्वीकृतिको संकेत मानिन्छ।
निष्कर्ष
हाँसो कुनै सामान्य क्रिया होइन— यो मस्तिष्क, शरीर र सम्बन्धहरूलाई दिगो रूपमा प्रभावित पार्ने शक्ति हो। हाँसोले एन्डोर्फिन स्राव गरेर हामीलाई खुसी, हल्का, सन्तुलित र स्वस्थ बनाउँछ। आजको ‘विश्व हास्य दिवस’मा हामी संकल्प गरौं— दैनिक जीवनमा थोरै भए पनि हास्ने, मुस्कुराउने र अरूलाई हँसाउने समय छुट्याउने।
हाँसो कुनै औषधि किन्ने कुरा होइन, तर यसको प्रभाव कुनै पनि औषधिभन्दा गहिरो र दीर्घकालीन हुन्छ। तनाव, चिन्ता र प्रतिस्पर्धाले भरिएको यो युगमा हरेक मानिसलाई हाँसो चाहिन्छ— आफैंलाई पनि, र अरूलाई पनि खुसी राख्न।
साँचो हाँसो तब मात्र पूर्ण हुन्छ, जब त्यसले अर्कोको अनुहारमा मुस्कान ल्याउँछ— निस्वार्थ भावले। रिस, ईर्ष्या र घृणाले अरूको खुशी देख्न नसक्ने बानीले अन्ततः व्यक्तिलाई आफैंलाई दुखी बनाउँछ, जुन क्षतिपूर्ति हुन नसक्ने घाटा हो।
मन जति धेरै खुशी हुन्छ त्यति धेरै मुस्कान यसले मुहारमा छर्छ । अतः, जीवनमा सत्य, करुणा र सह-अस्तित्वका आधारमा सबैको भलोका लागि हाँस्न सिकौं— यही हो जीवन जिउने उत्कृष्ट कला।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
