logo

शनिबार, २७ भाद्र २०८३

शनिबार, भाद्र २७ २०८३

सुदूरपश्चिम विवाद चुलिँदै, प्रचण्डले सबै सांसदलाई खुमलटार बोलाए

सुदूरपश्चिम विवाद चुलिँदै, प्रचण्डले सबै सांसदलाई खुमलटार बोलाए


  • आइतबार, बैशाख २१ २०८२
  • 1.6K
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।
    सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रभित्रको लामो समयदेखि चल्दै आएको संसदीय दलको विवाद टुङ्ग्याउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैं अग्रसर भएका छन्। पार्टी अध्यक्ष प्रचण्डले आगामी वैशाख २४ गते बिहान ९ बजे सबै सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूलाई खुमलटारस्थित निवासमा अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिएका छन्।

    पार्टी केन्द्रीय कार्यालयमार्फत पठाइएको सन्देश अनुसार पटक–पटक निर्देशन दिए पनि दलको नेताबारेको विवाद नफुकिएपछि प्रचण्ड रुष्ट बनेका छन्। एक प्रदेश सांसदका अनुसार, “हामीलाई २४ गते हेडक्वार्टर आउनुहोस् भनेर म्यासेज आएको छ। अध्यक्षज्यू यो विषयमा निकै गम्भीर हुनुहुन्छ।”

    १६ महिनादेखि चलिरहेको दलको नेतृत्व विवाद

    प्रचण्डले माघ १२ गते खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाउने निर्णय गरेपछि सुरु भएको विवाद अझै समाधान भएको छैन। अध्यक्ष प्रचण्डले पटक–पटक लिखित तथा मौखिक निर्देशन पठाउँदा पनि सांसदहरूले त्यसको कार्यान्वयन नगरेपछि उनी स्वयं बीचमा प्रवेश गरेका हुन्।

    दलको नेतृत्व परिवर्तनबारे प्रचण्डको निर्देशन दुई पटक लिखित रूपमा पुगेको थियो, तर सांसदहरूबाट बेवास्ता भएपछि उनी अहिले स्वयं निर्णायक पहलमा उत्रिएका छन्। एक नेताका अनुसार, “प्रचण्डले आफ्नै निर्देशन कार्यान्वयन गराउन नसकेको भन्दै पार्टीभित्रै आलोचना हुँदै आएको छ। अब उनले वारपार गर्ने मनस्थिति बनाएका छन्।”

    भट्ट बनाम धामी: दुवैतर्फ ५–५ सांसद

    संसदीय दलको नेताबाट हटाइएका भट्टको पक्षमा ५ जना सांसद छन्, जसमा शिव ओली, झपट साउद, रमेश धामी, जानकी पौडेल कुवर छन्। अर्कोतर्फ, धामीको पक्षमा अक्कल रावल, ओमविक्रम भाट सरल, लक्ष्मी विक, गीता माल छन्। पहिले धामीको पक्षमा रहेका शिव ओली अहिले भट्टको पक्षमा उभिएका छन्, जसले सांसद संख्या बराबरी बनाएको छ।

    यतिबेला न त भट्टले बहुमत देखाउन सकेका छन्, न त धामीले थप सांसद आफ्नो पक्षमा पार्न सकेका छन्। यही कारण संसदीय दल नेतृत्व अन्योलमा परेको छ।

    प्रचण्डकै उपस्थितिमा अन्तिम वार्ता हुने तयारी

    यसअघि पनि फागुन १४ गते अध्यक्ष प्रचण्डले सुदूरपश्चिमका सबै सांसदहरूलाई बोलाएर विवाद मिलाउन निर्देशन दिएका थिए। तर, उनले कैलाली पुग्नु भन्दा अगाडि विवाद सुल्झिनुपर्ने निर्देशन दिँदा पनि कार्यान्वयन भएन।

    प्रचण्ड पछिल्लो समय थारु राष्ट्रिय मुक्ति मोर्चाको सम्मेलन र तराई मधेस जागरण अभियानको समापनका लागि कैलाली जाँदा पनि विवाद समाधान नभएपछि निराश हुँदै काठमाडौं फर्किएका थिए।

    अब भने खुमलटारमै निर्णायक बैठक बसेर संसदीय दलको नेताका सम्बन्धमा अन्तिम निर्णय लिइने अनुमान गरिएको छ।


    थप अपडेट र विश्लेषणका लागि लोकसारथि पढिरहनुहोस्।

    प्रकाशित : आइतबार, २१ बैशाख २०८२ , ०६:५३ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend