भारत र पाकिस्तानबीच फेरि एकपटक युद्धको हल्ला चलेको छ। ‘अप्रेशन सिन्दूर’पछि दुवै देशका सत्ताका बयाँहरू, मिसाइल प्रहार, मिडिया हेडलाइन र सामाजिक सञ्जालमा फैलिएको युद्धको हाउगुजीले जनमानसमा त्रास फैलिएको छ। तर, के वास्तवमै यो युद्ध सम्भव छ? के दुई परमाणु सम्पन्न राष्ट्र युद्धमा होमिन सक्छन्?
यथार्थ के हो भने, भारत र पाकिस्तान दुबैलाई थाहा छ कि पूर्ण युद्धको परिणाम बर्बादी हो। सीमित झडप, नियन्त्रण र आक्रोश देखाउने कूटनीतिक र सैन्य रणनीति मात्रै हो — ताकि आन्तरिक राजनीति बलियो बनोस्, चुनाव जितियोस् वा जनताको ध्यान मोडियोस्।
सीमित लडाइँ, ठूलो हल्ला
पाकिस्तानबाट आएका उग्रपन्थी आक्रमणहरूमा केही भारतीय वा अन्य देशका नागरिक मारिन्छन्। प्रत्युत्तरस्वरूप भारतले पनि आतंकवादी संगठनका नाममा हवाई आक्रमण गर्छ, जसमा दर्जनौँ पाकिस्तानी आतङ्ककारी मारेको दावी गरिन्छ। यदि केही हप्ता यस्तो तनाव रह्यो भने ५०–१५० जनाको मृत्यु हुनु अस्वाभाविक हुँदैन। तर, त्यसपछि स्थिति फेरि साम्य बनाइन्छ — किनभने युद्धको साँचो अर्थ दुबै देशको सम्पूर्ण नाश हो, जुन कुनै पनि नेताले चाहँदैन।
गोर्खाली सैनिकहरूको विडम्बना
तर यति बेला पीडित को हुन्? नेपाली गोर्खा। भारतको सुरक्षाबलमा भर्ती भएका हजारौँ गोर्खाली युवाहरू पहिलो रेखामा पठाइन्छन्, जहाँ मृत्युको सम्भावना उच्च हुन्छ। भारतीय प्रधानमन्त्री मोदीको रणनीति स्पष्ट देखिन्छ — स्वदेशी जवानलाई जोगाउने र विदेशी जवानलाई सीमामा पठाउने। गोर्खा बहादुर छन्, निडर छन् भन्ने प्रचार गरिएको छ। तर यो निडरतामा गर्वको मात्रा कति हो र मजबुरीको कति अंश?
चन्द पैसाको लागि आफ्नै देश छाडेर अर्काको युद्ध लड्नुपर्ने बाध्यता, र त्यस युद्धमा सहिद हुँदा श्रीमतीको सिन्दूर मेटिँदा, बाबुआमाले जीवितै छोराको लास जलाउँदा महसुस हुने पीडालाई कसले बुझ्छ?
शब्दहरूमा साहस भनिन्छ, तर वास्तविकता बन्धन र बेवशताको पीडा हो।
युद्ध होइन, चेतनाको खाँचो
त्यसैले आज आवश्यक छ — युद्धको हाउगुजीमा नअल्झिऔं।
भारत–पाकिस्तान युद्धको हल्ला सधैं हुन्छ, तर पूर्ण युद्ध कहिल्यै हुँदैन। दुई परमाणु शक्तिहरू बीच वास्तविक युद्धको अर्थ संसारको ध्वंस हो, र नेताहरू यो जान्दछन्।
यसैले, अब हामीले शान्ति, आत्मनिर्भरता र नेपाली युवाहरूलाई देशभित्र रोजगारी दिन सक्ने नीति र नेतृत्वको माग गर्नुपर्छ।
हामी गोर्खा हौं भनेर गर्व त गरौं, तर सोधौं पनि — किन हामी आजसम्म अरूको झन्डामुनि, अरूको युद्धका लागि रगत बगाउन बाध्य छौं?
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
