सम्पादकीय
तिलोत्तमा नगरपालिका–संस्थागत र ऐतिहासिक रूपमा पृथक पहिचान बनाउन अग्रसर छ। त्यसकै उदाहरणका रूपमा चालू आर्थिक वर्ष २०८२ मा वैशाख २६–२७ गते “दलित ज्ञान उत्सव” नामक दुई दिने कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रम आजदेखि तिलोत्तमा १ नयाँमिल रुपन्देही स्थित होटल स्वान (पुरानो लक्ष्मी होटल) हुन गइरहेको छ । प्राप्त जानकारीअनुसार पूर्वमन्त्री छविलाल विश्वकर्मा प्रमुख अतिथिका रूपमा आमन्त्रित भएका छन्। उनी वैचारिक रूपान्तरणभन्दा पार्टीभित्रको राजनीतिक निर्देशनलाई प्राथमिकता दिने नेता मानिन्छन्। पार्टीको आदेश विपरीत उनी बोल्दैनन्। पार्टीभित्र उपयुक्त पद प्राप्त भएपछि त्यहीँबाट सन्तुष्टि लिने प्रवृत्ति रहेको भन्ने आरोप उनीमाथि जनस्तरबाट लाग्दै आएको छ। “दलित ज्ञान उत्सव” सन्दर्भमा नगर कार्यपालिकाले पत्रकार सम्मेलनसमेत गर्यो। यद्यपि, कार्यक्रममा प्रयोग गरिएको शीर्षक — “दलित ज्ञान उत्सव” — जनमानसमा अपेक्षाविपरीत सन्देह र आलोचना उत्पन्न गराउँदैछ।
कार्यक्रमको उद्देश्य स्पष्ट छ : जातीय विभेदको अन्त्य, समानताको प्रवर्धन, र समुदायको ज्ञान र सीपलाई समाजको मूलधारमा ल्याउने। तर समस्या उद्देश्यमा नभएर त्यसलाई बोकेको भाषिक संरचनामा — “दलित ज्ञान उत्सव” भन्ने नाममै छ। यस नामले दलित समुदायलाई अझै पनि पृथक पहिचानमा बाँध्ने, उनीहरूको वर्गीय चित्रणलाई राज्यकै आधिकारिक कार्यक्रमबाट सुदृढ पार्ने कार्य गरेको आरोप लाग्न सक्छ।
कार्यक्रमको शीर्षक राखेर नगरबासीलाई कार्यक्रममा निमन्त्रणा गरिएको पोस्ट उपर हीरामणि अर्याल लेख्छन् : “ऐले वच्चाहरुलाई दलित भन्ने थाहा छैन, यस्ता कार्यक्रम, फिल्म, लेखहरूले झन् विभेद बढ्छ, घट्दैन।” अर्का सामाजिक संजाल प्रयोगकर्ता जुन तारा राना मगरको प्रतिक्रिया यस्तो छ: “दलित शब्दको अर्को उपनाम राख्दा हुन्न?” यसले देखाउँछ—जनस्तरमा ‘दलित’ शब्दप्रति बढ्दो असहजता छ।
यसमा बहसको अर्को कोणसमेत छ : ‘दलित’ शब्दको ऐतिहासिक पृष्ठभूमि। ज्योतिराव फुलेले १९औँ शताब्दीमा सामाजिक दमन भोगिरहेका समुदायलाई जनाउन ‘दलित’ शब्द प्रयोग गरे। उनी छुवाछुत, जातीय अत्याचार र असमानताको विरुद्ध क्रान्तिकारी विचार बोकेका समाज सुधारक थिए। पछि डा. भीमराव अम्बेडकरले यस शब्दलाई संवैधानिक रूपमै सुदृढ पारे। नेपालको संविधान २०७२ मा समेत ‘दलित’ शब्द चार दर्जनभन्दा बढी स्थानमा प्रयोग भएको छ।
तर यही संविधानले जातीय समानताको ग्यारेन्टी दिँदा दिँदै पनि — एउटा पक्ष भन्छ: “अझै पनि दलितमाथि विभेद छ, त्यसैले यो पहिचान आवश्यक छ।” अर्काे पक्ष भन्छ: “समानताका सन्देश दिन ‘दलित’ भन्ने शब्द प्रयोग गर्नु आफैंमा असमानताको स्वीकारोक्ति हो।”
विज्ञानको दृष्टिले पनि मानव जाति एउटै हो—Homo sapiens। जैविक संरचना, प्रजनन प्रणाली, चेतना र सामाजिक व्यवहारमा फरक जाति भन्ने आधार नै छैन। जातको निर्माण समाजले गर्यो, विज्ञानले होइन। अझ अचम्म त के भने—संविधान भन्छ: “कसैले कसैको धर्ममा खलल गर्न मिल्दैन”, अनि त्यो धर्मको नाममा जातीय विभेदलाई व्यवहारमा ल्याइन्छ। के राज्यले यो विरोधाभास देख्दैन?
यही परिप्रेक्ष्यमा, ‘दलित ज्ञान उत्सव’ शीर्षकले कार्यक्रमको उद्देश्यलाई नै कमजोर पार्ने खतरा छ। कार्यक्रमको उद्देश्य जातीय भेदभाव अन्त्य गर्नु हो भने, शीर्षकले सबै समुदायलाई समेट्ने हुनुपर्छ—मानव ज्ञान उत्सव, समानता ज्ञान उत्सव, शाश्वत ज्ञान उत्सव वा नेपाली ज्ञान उत्सव जस्ता समावेशी र प्रेरणादायी विकल्पहरूमा विचार गर्न सकिन्छ।
कार्यपालिका उपप्रमुखले प्रेस मिटमा जानकारी दिइसकेको भन्दै सञ्चारकर्मीसँग संवाद नगर्नु, सूचनाको हकप्रति संवेदनशीलता नदेखाउनु—सार्वजनिक उत्तरदायित्वको दृष्टिकोणबाट आलोचनाको विषय हो। बजेट विनियोजन गरेर आयोजना गरिएको कार्यक्रमको वैचारिक गहिराइ र भाषिक सन्तुलन अझ सशक्त हुनुपर्छ। एउटै बीउबाट उम्रिएको फलदार रुखमा सबै पातहरूको आकार र रंग एकनासको हुँदैन, न त फलहरूको आकार, स्वाद र रंग नै उस्तै हुन्छन्। फरक–फरक पात र फल देखिएको आधारमा ती सबैलाई भिन्न–भिन्न जातिका हुन् भन्नु विवेकशील प्राणीका लागि उचित हुँदैन।
ठीक यही प्रकारले मानिसका सन्दर्भमा पनि चिन्तन–मनन गर्नु आवश्यक छ। भाषा, भौगोलिक संरचना, जीवनशैली, मूल्य–मान्यता, आस्था, संस्कृति, शरीरको रंग र आकार भिन्न हुन सक्छन्, तर जाति एउटै हो—मानव।
‘दलित’ शब्द जातिसूचक होइन, अवस्थासूचक हो। अवस्था कस्ले सिर्जना गर्याे ? अब यसको औचित्य छैन । शरीरमा माइकोबेक्टिरियम ट्युबरकुलोसिस किटाणुहरु उपस्थित छन् भने त्यस व्यक्तिलाई तपेदिकमुक्त मान्न सकिँदैन । त्यसैगरी दलित शब्दको संगत तथा निरन्तरता भइरहेमा समाजमा समानता र एक मानव जातिको अवधारणा स्थापित हुनु सम्भव छैन । यो सत्यलाई पनि गम्भीरतापूर्वक मनन गर्नु आवश्यक छ।
अन्ततः सन्देश महत्त्वपूर्ण हुन्छ, तर सन्देशको भाषिक सन्देश अझ महत्त्वपूर्ण हुन्छ। उद्देश्य महान् भए पनि त्यसलाई बोकेको नामले अर्थ बिगारेमा अभियानको सार झण्डै गुम्न सक्छ। त्यसैले—सिर्जनात्मकता, संवेदनशीलता र समावेशिताको नाममा अब ‘दलित ज्ञान उत्सव’लाई पुनरावलोकन गरी परिवर्तन गर्नु आवश्यक भइसक्यो। यद्यपि कार्यक्रमले सकारात्मक सन्देश फैलाओस्, शुभकामना !
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
