लोकसारथि संवाददाता, काठमाडौं ।
नेपाली कांग्रेसले अहिलेको सत्तारुढ गठबन्धन परिवर्तन गर्ने कुनै सोच नरहेको स्पष्ट पारेको छ। शनिबार संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक श्याम घिमिरेले माओवादी केन्द्रसँग गठबन्धन गर्ने या सरकार परिवर्तनको कुनै योजना नरहेको बताएका हुन्।
प्रमुख सचेतक घिमिरेले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटघाट सामान्य छलफल मात्र भएको स्पष्ट पार्दै, गठबन्धन परिवर्तनको अड्कल नलाउन आग्रह गरे। साथै, उनले गभर्नर नियुक्तिमा भइरहेको ढिलाइ प्राविधिक कारण भएको र त्यसमा नेकपा एमालेले अवरोध गरेको भन्ने हल्लामा सत्यता नरहेको बताए। घिमिरेका अनुसार अब चाँडै नै गभर्नरको नियुक्ति हुनेछ।
यसैबीच, कांग्रेस सांसद प्रकाशशरण महतले डडेलधुराबाट प्रचण्डले देउवालाई गरेको फोनलाई संयोग मात्र भएको बताएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि त्यसअघि देउवालाई फोन गरेको उदाहरण दिँदै, यस्ता सम्पर्कहरू सामान्य राजनीतिक प्रक्रिया भएको बताए।
बैठकमा सहभागी सांसदहरूले भने सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। उनीहरूका अनुसार सरकार एकतर्फी ढंगले अघि बढिरहेको छ र कांग्रेसको सुझावलाई बेवास्ता गरिएको छ। सांसदहरूले गभर्नर लगायतका महत्वपूर्ण नियुक्ति बिना कारण अड्काइएकोप्रति चासो व्यक्त गरेका थिए। साथै, बजेट वितरणमा समानता र सन्तुलन कायम गर्नुपर्ने सुझाव पनि बैठकमा उठाइएको प्रमुख सचेतक घिमिरेले जानकारी दिए।
उनका अनुसार बैठकमा सांसदहरूले आगामी बजेटमा सन्तुलित विकास सुनिश्चित गर्नुपर्ने, सबै क्षेत्रलाई समानुपातिक रूपमा सम्बोधन गर्नुपर्ने लगायतका विषयमा गहिरो छलफल गरेका थिए। बैठकले कांग्रेस नेता चन्द्रकान्त भण्डारीको स्वास्थ्यलाभको कामना गर्नुका साथै दुई शोक प्रस्ताव पनि पारित गरेको थियो।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
