आज समाज कतातिर जाँदैछ भन्ने कुरा अकल्पनीय स्वरुपमा स्थापित हुँदै गएको देखिन्छ। घरघरमा मांस, मदिरा र चरित्र पतनको अभ्यास सामान्यझैँ चल्दैछ। भगवद् चिन्तन र सनातन धर्मको अनुशरणमा कसैले न आफ्नो कल्याण देख्छन्, न त हित नै। भ्रष्टाचार, व्यभिचार र पापचार गरेर सुख र शान्ति प्राप्त गर्न खोजिएको छ, जबकि त्यो सम्भव नै छैन।
यस्तै पतनशील सामाजिक प्रवृत्तिहरूको मूलमा संस्कारहीनता छ। त्यसैले आज हत्या, बलात्कार, डिभोर्स, झैझगडा, आत्महत्या र मानसिक रोगका घटनाहरू दिनप्रतिदिन बढिरहेका छन्।
सुलतान डाकुको कथा: एउटा चेतावनी
ब्रिटिश शासनकालमा उत्तर भारतमा एक आतंक थियो—सुलतान डाकु। अवध, रुहेलखण्ड र दोआब क्षेत्रका सयौं गाउँहरूमा उनका नामले डर लाग्दथ्यो। ब्रिटिश प्रशासनले उनलाई नियन्त्रणमा लिन अनेक प्रयत्न ग¥यो, अन्ततः उनी पक्राउ परे र मृत्युदण्ड दिइयो। तर, मृत्युदण्डपूर्व उनले देखाएको पछुतो आज पनि हजारौं अभिभावक र समाजका लागि गहिरो शिक्षा हो।
जब फाँसीपूर्व अन्तिम इच्छा सोधियो, उनले आमासँग भेट्न चाहना व्यक्त गरे। आमाले उनलाई अँगालो हालिन्, तर सुलतानले आमाको नाक टोके। किन? उनले भने—
“म सानोमा साथीको कलम चोरेर ल्याएँ, आमाले पक्रनुभए पनि प्रशंसा गरिहाल्नुभयो। त्यही दिन मलाई सजाय दिनुभएको भए, म आज डाकु हुने थिइनँ।”
यो एक सन्तानको अपराधमा आमाको मौन समर्थनले कस्तो भयावह रूप लिन सक्छ भन्ने उदाहरण हो। डाकु सलतानलाई जुलाइ ७, १९२४ मा मृत्युदण्ड दिइएको थियो ।
माताको चरित्र र छोरीको भविष्य
यदि १० वर्षकी छोरीका सामु एक आमाले परपुरुषसँग हेलमेल राख्ने, समय बिताउने, उपहार लिने, अनि चरित्र र आत्म-संस्कारको ध्यान नराखी आत्मसमर्पणसमेत गरिदिने हो भने त्यो आमाको व्यवहार नै छोरीको संस्कार बन्न थाल्दछ। आमा घर फर्किन्छिन्, तर उनका मनका दूषित भावहरू ऊर्जाका रूपमा सन्तानमा प्रवेश गर्छन्। यसरी नै सन्तान चरित्र र विचार दूषित हुँदै जान्छ। रातिको ११ बजिसक्दासम्म पनि सन्तानसहितकी महिला सामाजिक सञ्जालमा पराइपुरुषसँग च्याटिंगमा व्यस्त हुन्छिन् ।
आमाबाबु भनेको बालबालिकाका पहिलो गुरु हुन्। उनीहरूकै आचरण र व्यवहार सन्तानको भविष्य निर्धारण गर्ने मूल मापदण्ड हो। यदि आमाबाबु स्वेच्छाचारी र सनातन संस्कारविहीन छन् भने सन्तानमा नैतिक पतन अपरिहार्य छ।
धर्मशिक्षा र संस्कार: समाजको मेरुदण्ड
आजको समाजमा धर्मशास्त्र, भागवत चिन्तन, उपनिषद् र रामायणका मूल्यहरू ओझेलमा पर्दैछन्। मोबाइल, इन्टरनेट र कृत्रिम चमकधमकले बालमस्तिष्क कब्जा लिइरहेका छन्। त्यसैले नैतिकता, कर्तव्यबोध र मानवता हराउँदैछ।
हामीले यथाशीघ्र आफ्ना घर-घरमा धर्मशिक्षा पुनःस्थापित गर्नुपर्छ। हरेक बालकले बाल्यकालदेखि नै गीता, भागवत, सत्सङ्ग, संयम, श्रद्धा र सेवा सिक्नुपर्छ। स्वामी विवेकानन्दले भन्नुभएको थियो—“तिमीले मलाई एक सय यस्तो बालक देऊ, जसको हृदय शुद्ध हो र मनोबल धर्ममार्गमा अटल छ—म सारा संसार परिवर्तन गरिदिन्छु।”
सुलतान डाकु केवल एक ऐतिहासिक डाकु होइन, उनी एक चेतावनी हुन्—हाम्रा घरहरू संस्कारशून्य हुँदा समाज कहाँ पुग्छ भन्ने जीवित प्रमाण। आज हामी सजग नभइयो भने हरेक घरबाट सुलतानजस्ता पात्रहरू जन्मिन सक्छन्। त्यसैले धर्मशिक्षा, आत्मसंयम, पवित्रता र सुसंस्कारलाई घरघरमा पुनःस्थापित गरौँ।
सन्तानलाई सुधार्न चाहनुहुन्छ भने पहिलो सुधार आफैंबाट सुरु गरौँ। हामी यदि शुद्ध भयौँ भने सन्तान पनि शुद्ध बन्छ। संस्कारको बीउ आज रोप्यौँ भने मात्र भोलिको समाजमा सान्ति र सदाचारको फूल फुल्नेछ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
