लोकसारथि संवाददाता, काठमाडौं ।
संविधानप्रदत्त राजसंस्था पुनःस्थापनाको माग गर्दै आन्दोलनरत राजावादी समूहले भोली (सोमबार) का लागि काठमाडौं उपत्यका बन्दको घोषणा गरेका छन्। ‘संवैधानिक राजसंस्था र सनातन हिन्दूराष्ट्र’ स्थापनाको माग गर्दै गठित संयुक्त जनआन्दोलन समितिले जेठ १९ गते उपत्यका बन्द गर्ने निर्णय गरेको हो।
समितिका संयोजक नवराज सुवेदीद्वारा आइतबार साँझ जारी विज्ञप्तिमा राजधानीमा आयोजित शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले बर्बर दमन गरेको गम्भीर आरोप लगाइएको छ। उक्त प्रदर्शनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा, नेता दीपक सिंहलगायत दर्जनौं कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको जनाउँदै समितिले उनीहरूको यथाशीघ्र रिहाइको माग गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “संविधानमा सुनिश्चित नागरिक अधिकारको प्रयोग गरिरहेका आन्दोलनकारीहरूमाथि गरिएको बल प्रयोग र गिरफ्तारी सरकारको निरंकुश चरित्रको प्रमाण हो। हामी यस्ता दमनको कडा विरोध गर्दछौं र आन्दोलनको स्वरूप परिवर्तन गर्दै भोली उपत्यका बन्दको घोषणा गर्दछौं।”
संयुक्त जनआन्दोलन समितिले हालै सुदृढ हुँदै गएको राजसंस्थाप्रति जनसमर्थनलाई दबाउन सरकारले दमनको बाटो रोजेको दाबी गर्दै यस्ता गतिविधिले जनतामा आक्रोश बढाउने चेतावनीसमेत दिएको छ।
यसअघि आइतबार काठमाडौंमा राजावादी समूहले ठूलो संख्यामा प्रदर्शन गर्दै धर्मनिरपेक्षता, संघीयता, गणतन्त्र र वर्तमान शासनप्रणालीको विरोधमा आवाज उठाएका थिए। प्रहरीले सो आन्दोलन नियन्त्रणमा लिन बल प्रयोग गर्दा केही प्रदर्शनकारी घाइतेसमेत भएका थिए।
संयुक्त जनआन्दोलन समितिले सबै नागरिक, राष्ट्रप्रेमी युवा, महिलाहरू, सनातन धर्मका अनुयायीहरूलाई उपत्यका बन्दमा सहयोग गर्न आह्वान गर्दै आगामी दिनमा थप सशक्त आन्दोलनको चेतावनीसमेत दिएको छ।
सरकारले भने यसबारे हालसम्म औपचारिक प्रतिक्रिया दिएको छैन। उपत्यकावासीहरूलाई बन्दका कारण आवश्यक सतर्कता अपनाउन र वैकल्पिक तयारी गर्न सुरक्षा निकायले सुझाव दिएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
