logo

मंगलबार, २३ भाद्र २०८३

मंगलबार, भाद्र २३ २०८३

नेपालमा पहिलोपटक ट्रान्सजेन्डर व्यक्तिमा लिङ्ग परिवर्तन शल्यक्रिया सफल

नेपालमा पहिलोपटक ट्रान्सजेन्डर व्यक्तिमा लिङ्ग परिवर्तन शल्यक्रिया सफल


  • आइतबार, जेष्ठ २५ २०८२
  • 923
    SHARES

    – लोकसारथि संवाददाता, काठमाडौं ।

    नेपालमा पहिलोपटक ट्रान्सजेन्डर व्यक्तिमा लिङ्ग परिवर्तन (सेक्स चेन्ज) शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको यस ऐतिहासिक चिकित्सकीय उपलब्धिले लैङ्गिक पहिचान खोजिरहेका व्यक्तिहरूका लागि नयाँ ढोका खोलिदिएको छ।

    अस्पतालले सार्वजनिक गरेको विज्ञप्तिअनुसार, जनकपुर निवासी २५ वर्षीया ट्रान्सजेन्डर व्यक्तिमा गरिएको यस शल्यक्रियामा पुरुष यौन अङ्गको तन्तुहरूको प्रयोग गरी महिलाको जैनेन्द्रिय अंग पुनर्निर्माण गरिएको हो। अस्पतालले यो प्रक्रिया बिरामीको इच्छाअनुसार उनको आत्मपहिचानसँग मेल खाने लैङ्गिक संरचना निर्माण गर्ने लक्ष्यसहित गरिएको जनाएको छ।

    विदेशी तथा नेपाली चिकित्सकहरूको संयुक्त प्रयास

    शल्यक्रिया ईरानी प्लास्टिक सर्जन डा. अलरिजा हामीदियान जारोमीको नेतृत्वमा तथा त्रिवि शिक्षण अस्पतालको प्लास्टिक सर्जरी विभाग प्रमुख प्रा.डा. जयनमान श्रेष्ठको संयोजनमा सम्पन्न भएको हो। यस अपरेशनमा विभागका प्रा.डा. ईश्वर लोहनी, डा. संगम रायमाझी, डा. समीत शर्मा, डा. विकेश राजभण्डारी, डा. हिमालय निरौला लगायतका विशेषज्ञ प्लास्टिक सर्जनहरू संलग्न थिए। साथै, रेजिडेन्ट डाक्टरहरू डा. अनुप थापा, डा. सुदीप पण्डित, डा. आशिष अधिकारी, डा. नोभेल, डा. ईशा, डा. अस्विन तथा एनेस्थेसिया टिमबाट डा. मेघा कोइराला र डा. पंकज जोशीको सक्रिय भूमिका रह्यो।

    जेन्डर एफर्मिङ क्लिनिक स्थापना हुने

    शल्यक्रिया सफल भएसँगै अस्पतालले ‘जेन्डर एफर्मिङ क्लिनिक’ स्थापनाको तयारीसमेत थालेको छ। विभाग प्रमुख डा. जयनमान श्रेष्ठका अनुसार अबदेखि यो सेवा नियमित रूपमा संचालनमा ल्याइनेछ, जसले यस्ता शल्यक्रियाका लागि विदेश जानुपर्ने बाध्यता हटाउने छ।

    सामाजिक सन्देश

    यो शल्यक्रियाले नेपालमा लैङ्गिक विविधता तथा ट्रान्सजेन्डर समुदायप्रति सकारात्मक दृष्टिकोण विकास गर्न मद्दत पुर्‍याउने विश्वास लिइएको छ। चिकित्सा क्षेत्रमा भएको यो नवीनतम प्रगतिले सामाजिक समावेशीता, लैङ्गिक पहिचानको सम्मान तथा स्वास्थ्य अधिकारको दिशामा ऐतिहासिक योगदान पुर्‍याएको छ।

    यस ऐतिहासिक सफलताको प्रतीकका रूपमा, नेपालले चिकित्सा विज्ञानमा मात्र होइन, सामाजिक समानताका क्षेत्रमा पनि नयाँ युगको आरम्भ गरेको छ।

    प्रकाशित : आइतबार, २५ जेष्ठ २०८२ , ०३:४३ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend