logo

बुधबार, २४ भाद्र २०८३

बुधबार, भाद्र २४ २०८३

सम्बन्ध !

सम्बन्ध !


  • शनिबार, असार २१ २०८२
  • 5K
    SHARES

    आजको युग तीव्र संचारको युग हो, कम्प्युटर प्रविधि र एआईको जमाना हो। यसलाई हामीले कत्तिको सदुपयोग गर्छौं या दुरुपयोग, व्यक्ति विशेषमा भर पर्ने कुरा हो। मानिसहरूले आफूले पालेको बिरालो, कुकुरहरूलाई अरू मान्छेलाई भन्दा धेरै माया गरिरहेको, त्यसमा दशौँ हजार खर्च गरिरहेको देखिँदा यसो नियालेर हेर्ने हो भने हजारौँ मान्छेहरू हाम्रै अगाडि कति गरिब छन्, कति धेरै पीडित छन्, आर्थिक अभावमा छन्, भोकभोकै छन्, आङ ढाक्ने राम्रो लुगा पनि लगाउन पाएका छैनन्, सामान्य शिक्षा पनि पाउन सकेका छैनन्, आधारभूत स्वास्थ्य सुविधा पाएका छैनन्, तर पनि किन मानिसहरूलाई तिनको दुःखभन्दा कुकुर, बिरालो बढी प्यारो भएको होला भन्ने लाग्नु स्वाभाविकै हो।

    तर बुझ्दै जाँदा सबै पशुहरू भन्दा मानवरूपी पशु ईर्षालु, वैमनस्यकारी, सहयोग गरुन्जेल ठीक, कुनै बेला सहयोग गरेन भने बदमास भन्दै दुत्कार्ने, सानो त्रुटि भेट्नासाथ खोईरो खन्ने, सधैँ अरूबाट अपेक्षा गरिरहने तर आफूचै केही नगर्ने, अरूको छिद्र मात्र देख्ने, मौका पाउनासाथ को आफन्त को पराया चिन्न छाड्ने, को हितकारी को अहितकारी ठम्याउन नसक्ने, कृतघ्न देखिने दाजु भाइ, दिदी बहिनीसँग विषबमन गरी झगडा गराउने टोक्सिक मानिसले मानिसलाई सेवा र सहयोग गरिरहनुपर्ने कुरा भएन, र कुनै कारण पनि हुँदैन।

    नेपालीहरूको चरित्र त यति ग्वाँजे र भ्रष्टिकृत भइसकेको देखिन्छ कि एउटा मौका पाउनासाथ, कु–राजनीतिक कु–धार्मिक विचारको स्वार्थ बाझिनासाथ बेसरोकार अरूको खोईरो खनिहाल्नुपर्ने, अरूले गरेको गुण बिर्सिहाल्नुपर्ने, नचिनेको नभोगेको मानिसलाई पनि बिना सोच विचार नराम्रो भनिहाल्नुपर्ने, खोट लगाइहाल्नुपर्ने, अरूले गरेको साथ सहयोग बिर्सिहाल्ने, नदेख्ने। तर यति प्रताडित हुँदा पनि कृतघ्न नेपाली समाजमा मानिसहरू किन मानव सेवा गरिरहेका हुन्छन्? कृतघ्न समाज बन्दै जाँदा कहीं आफैँ फस्न थालेको त हैन? पिर पर्दा र चाहिएको बेला कसैको साथ सहयोग नपाउने अवस्था त बनेको छैन? भनेर सोच्छन् कि सोच्दैनन्? गु र गोबर बराबर ठान्ने?

    योचै अनौठो लाग्ने कुरा रहेछ।
    Mind your business! Or be bankrupt!

    पैसा र सम्बन्ध: जीवनको कठोर यथार्थ
    पैसा भएन भने आफ्ना पनि टाढा हुन्छन्” भन्ने भनाइले जीवनको एक कठोर यथार्थ देखाउँछ। जबसम्म मान्छेसँग पैसा, हैसियत वा सामर्थ्य हुन्छ, तबसम्म वरिपरिका आफन्त, साथीभाइ, र समाज नजिक रहन्छन्। तर जब मान्छे समस्यामा पर्छ, विशेषगरी आर्थिक कठिनाइमा, तब त्यही आफन्त र नातेदारहरू टाढा हुन थाल्छन्। अर्को पाटोबाट हेर्ने हो भने जब मानिस अरूको दाजो बराबरमा हुन्छ, त्यसलाई सबैले राम्रै व्यवहार गर्छन्, तर जब केही उन्नति गरेर राम्रो घर, राम्रो गाडी, उच्च स्तरको जीवन मेन्टेन गर्छ तब आफ्नैले रिस, डाह गरेर खेदो पनि खनेको देखिन्छ। त्यो प्रत्यक्ष अरूको प्रगति प्रतिको रिस, डाह र जलन हो। जसले आफैँलाई खोक्रो बनाइरहेको हुन्छ। र बिस्तारै मानसिक समस्या तिर धकेलिरहेको हुन्छ।

    धेरैजसो सम्बन्धहरू व्यवहारिक स्वार्थमा आधारित हुन्छन्। तपाईंलाई कसले कति माया गर्छ भन्ने कुरा तपाईं सफल हुँदा होइन, तपाईं असफल हुँदा प्रस्ट हुन्छ। जब तपाईंले दिन सक्नुहुन्छ – चाहे त्यो आर्थिक सहयोग होस् वा सुविधा – तब तपाईंको वरिपरि धेरै मानिस हुन्छन्। तर जब तपाईं आफैँलाई टिकाउन संघर्ष गर्दै हुनुहुन्छ, तब धेरैजसो “आफ्ना”हरू टाढा जान थाल्छन्।

    पैसा नहुँदा र प्रशस्त हुँदा मानिसलाई हेर्ने दृष्टिकोण पनि समाजमा फरक–फरक हुन्छ। हिजो तपाईंलाई सम्मान दिनेहरू आज चिनेझैँ नगर्न सक्छन्। आफन्तहरूले “व्यस्त छु”, “सघाउन सक्दिन” जस्ता बहाना बनाउँदै तपाईंलाई टार्न थाल्छन्। यसले स्पष्ट देखाउँछ कि धेरै सम्बन्धहरू गहिरो माया र आत्मीयतामा होइन, सुविधामा आधारित रहेछन्।

    छोरा–छोरीलाई घरमा पाहुना आउँदा “नमस्ते गर” भनेर भन्नुपर्छ या आफूभन्दा अग्रज व्यक्तिसँग कहाँ कसरी बोल्नु पर्छ, कसरी सम्मान गर्नु पर्छ भन्ने ज्ञान सिकाउनु भएन भने तपाईंको बच्चालाई राम्रो संस्कार दिनु भएन भनेर बुझ्नुपर्छ। संस्कार बिना हुर्किएका बच्चाको न नैतिकता राम्रो हुन्छ, न चरित्र, न अनुशासन। घर नै पहिलो पाठशाला हो भन्ने कुरा लाई नकार्न सकिँदैन। त्यसैले सन्तानलाई राम्रो संस्कार दिए बरदान र नराम्रो दिए अभिशाप हुने गर्छ।

    तर यस्ता कठिन परिस्थितिले अर्को महत्वपूर्ण कुरा पनि देखाउँछ – को साँच्चै तपाईंको हो। तपाईंको दुःखमा जसले साथ दिन्छ, सहयोग गर्छ, कस्ले सकेर पनि सहयोग गर्दैन, कस्ले चाहेर पनि सहयोग गर्न सक्दैन, या कस्ले आफूभन्दा माथि जान्छ कि भनेर सहयोग हैन खेदो खन्न थाल्छ, तपाईंलाई हेरचाह गर्छ – ती नै तपाईंका असली र नक्कली “आफ्ना” हुन्। यस्ता व्यक्तिहरू धेरै हुन्छन्, जसलाई चिन्न तपाईं अरूको मनोविश्लेषण गर्न सक्ने हुनुपर्छ। भनिन्छ ७२% व्यवहार बडि–लैंग्वेज, हाउ–भाव र गरिने व्यवहारबाट प्रस्ट हुन्छ। तर उनीहरूको मूल्य कि अपार, कि नपार हुन्छ।

    यस भनाइले हामीलाई चेतावनी दिन्छ – संसार व्यवहारिक छ, भावना मात्रले सम्बन्ध टिक्दैन। त्यसैले आत्मनिर्भर बन्नु, आर्थिक रूपमा सक्षम रहनु र आफ्नो जीवनमा साँचो मानिस चिन्न सक्नु अत्यावश्यक कुरा हो। यथार्थ कहिलेकाहीँ कठोर हुन्छ, तर त्यसैबाट जीवन बाँच्ने तरिका पनि सिकिन्छ।

    त्यसैले पैसा हुँदा सबै आफ्ना लाग्छन्, नहुँदा को कति आफ्नो हो भन्ने थाहा पाइन्छ। त्यसैले भावनामा मात्र होइन, व्यवहारमा पनि सशक्त बन्न आवश्यक छ। आफ्नाले आफू प्रति गरिने असल या खराब व्यवहारबाट नै मानिसको संस्कार झल्किने हुन्छ। मान्छेले मान्छेलाई गरिने व्यवहारबाटै व्यक्तिको नैतिकता, चरित्र र अनुशासनको आकलन गरिन्छ। त्यसैले अरूको व्यवहार प्रति चासो भन्दा पनि आफू र आफ्नो परिवारको व्यवहार प्रति सजग र सहज रही आजीवन खुसी रही अरूलाई पनि खुसी राख्न सक्नु नै जीवनलाई सार्थक बनाउनु हो।

    प्रकाशित : शनिबार, २१ असार २०८२ , १०:२६ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend