logo

बुधबार, २४ भाद्र २०८३

बुधबार, भाद्र २४ २०८३

मानसिक समस्या र आत्महत्या

मानसिक समस्या र आत्महत्या


  • सोमबार, भाद्र २ २०८२
  • 1.4K
    SHARES

    के तपाईंको मन भारी भइरहेको छ? तपाईंलाई यो संसारमा बाँच्नु नै वेकार हो जस्तो लागिरहेको छ? परिवारका साना–तिना झगडामा पनि रुने, वैराग्य लाग्ने र मर्ने सम्मको कुरा खेलेको छ? सानो–तिनो रोग लाग्दा र समाधानको बाटो नदेख्दा “यस्तो जीवन किन बाँच्नु?” भन्ने कुरा मनमा आएको छ? श्रीमान्/श्रीमतीका तिखा वचन, परिवारले भित्र–भित्रै दिने टर्चरहरू सहन नसकेर “मर्न पाए बरु टेन्सनै साफ हुन्थ्यो” भन्ने सोच आएको छ?

    यसको अन्तिम सार — यदि तपाईंलाई यो संसार साँच्चै वैराग्य लाग्ने, मर्ने विचार मनमा आइरहने, आफू जस्तो अभागी कोही छैन भन्ने भावना आइरहने, आफू यो संसारमा बाँच्न लायक छैन भन्ने कुरा मनमा आइरहेको छ भने, तपाईंलाई मानसिक समस्या भएको हुन सक्छ।

    समस्या परेको बेला नकारात्मक कुरा मनमा आउनु स्वाभाविक हो। यी कुरा मनमा आउनु र जानु पनि स्वाभाविक प्रक्रिया हो। तर दिनरात यही कुरा मनमा खेलिरहनु भने राम्रो संकेत होइन। मानौं, छोराछोरी बिरामी हुँदा पनि बच्चाको पीर भन्दा “आफू नै मर्न पाए हुन्थ्यो” भन्ने कुरा मनमा आएको त छैन?

    स्कुलमा बच्चा फर्स्ट हुँदा वा थोरै प्रगति गर्दा पनि, हामी अभिभावकहरू खुसीले गदगद हुन्छौं। तर तपाईंलाई त्यो कुराले पनि खुसी मिलेको छैन भने तपाईंलाई गहिरो मानसिक समस्या हुन सक्छ। यस्तो कुरा मनमा खेल्यो भने तत्काल मन मिल्ने आफ्ना साथी वा आफ्नो कुरा सुन्ने परिवारको सदस्यलाई , मनोविश्लेषक वा मनोचिकित्सकलाई भेट्नुपर्छ।

    आत्महत्या नै सबै समस्याको समाधान कदापि होइन।
    कुनै सम्बन्धमा समस्या भए परिवारमा खुलस्त भन्न सक्नुपर्छ। हरेक समस्याको समाधान हुन्छ। श्रीमान् र श्रीमतीबीच भन्नै नसकिने, भन्नै नमिल्ने सयौं समस्या हुन्छन्। त्यस्ता कुरा सम्बन्धित विज्ञसँग छलफल गर्न सकिन्छ। यसका लागि अहिले अनलाइन वा फोनमार्फत स्वास्थ्यकर्मीसँग भलाकुसारी गर्न सकिन्छ। उहाँहरूसँग खुलस्त कुरा राख्नुहोस् — उपचार सम्भव छ।

    हामी र हाम्रो समाज अझै पनि दैद्ध–चरित्रको छ — अरुको पारिवारिक र आन्तरिक मामिलामा घुसिहाल्ने, वास्तविकता नबुझी नकारात्मक कुरा गरिहाल्ने र उडाउने या ठट्टा गर्ने। वास्तविक कुरा केही थाहा छैन तर वकिल र न्यायाधीश बनिहाल्ने। अरुको समस्यामा हाँसो–ठट्टा र खिसी–ट्याउरी गर्ने मानिसको कमी छैन।

    मानिसलाई समस्या परेको बेला, निराश देखिएको बेला, नकारात्मक भएको बेला —
    “तिमीलाई ठिक छ नि?”
    “आजकल पहिले जस्तो फ्रेश देखिन्नौ।”
    “केही समस्या छ कि?” भनेर सोध्ने गरौं।
    “केही समस्या भए हामी पनि छौं है” भनेर ढाडस दिने, समाधान खोजिदिने गरौं। तर उचाल्ने र पछार्ने, पक्ष र विपक्ष भएर परिवार भाँड्ने काम बन्द गरौं। जब कोही मानिसले कसैको सहयोग पाउँदैन र समाधानको बाटो पनि देख्दैन, तब उसले गलत निर्णय लिन बाध्य हुन्छ। त्यसपछि हामी भन्छौं — “थुक्क हुतिहारा! लड्नुपर्थ्यो, हामीलाई भन्नुपर्थ्यो, बाँच्नुपर्थ्यो।”

    तर त्यतिबेला धेरै ढिलो भइसकेको हुन्छ, त्यसैले समयमै सहयोग गरौं।

    कृपया, अहिले धेरै व्यक्तिहरू कुनै न कुनै रूपमा मानसिक समस्या झेलिरहेका छन्। मानसिक समस्या भएकालाई “वौलाहा/वौलाही”, “दिमाग खुस्केको”, “दिमागको औषधी खाने/खाएको नालायक”, “कबाडे” आदि भन्नेजस्ता गलत बानीहरू समाजमा छन्। कोही व्यक्ति पहिले भन्दा अलि फरक तरिकाले बोल्यो वा व्यवहार गर्यो भने —
    “पैसाले र वैश्याले मात्तियो”,
    “कहिल्यै खुसी हुन नजान्ने”,
    “वैरागी” जस्ता उपमा दिइन्छ। किनभने हाम्रो बुझाइ, हुर्काइ र पढाइ नै त्यस्तै भयो।

    कोही पढेलेखेकाले, बुझेकाले सम्झाउन खोज्यो भने —
    “नाटक/चटक गर्‍यो”,
    “खुबै जान्ने पल्टिन्छ”,
    “बडो आयो पढेलेखेको” जस्ता प्रतिक्रिया आउँछन्।
    कतिपय संस्कारका नाममा “संस्कारी/सुसिल/ठाँडे/सोमत नभएको” जस्ता शब्दहरू प्रयोग गरेर व्यक्तिको मूल्यांकन गरिन्छ र सँगसँगै समस्या बढाइन्छ।

    कोही व्यक्ति पहिले भन्दा बढी निराश, नकारात्मक र चिढचिढे, रिसाहा, डाहा गर्ने, आफ्नै परिवार वा साथी–भाइसँग झगडा गर्ने, अपशब्द बोल्ने देखिन्छ भने — उसलाई मानसिक समस्याले गाँजिसकेको छ। त्यसैले उसलाई नजिकबाट बुझौं। कोही व्यक्ति बढी एक्साइटेड छ भने पनि बुझ्न आवश्यक छ। कसैको परिवारमा बढी कलह र झगडा छ भने पनि सामाजिक र कानुनी परामर्शमा ध्यान दिऔं।

    बस्नै नसक्ने स्थिति भए सँगै बस्न दबाब पनि नदिऔं। सम्मानजनक तरिकाले जीवनयापन गर्ने वातावरण बुझाऔं। सकिन्छ भने तत्काल हरेक गाउँपालिका/नगरपालिका र प्रत्येक वडामा मानसिक रोग/समस्या सम्बन्धी गुनासा गर्ने, छलफल गर्ने र समाधान निकाल्ने एउटा पढेलेखेको व्यक्ति राखौं।

    जसरी हाम्रो शरीर बिरामी हुन्छ, त्यसरी नै हाम्रो दिमाग पनि बिरामी हुन्छ भन्ने कुरा सिकौं र सिकाऔं। गलतका विरुद्ध परिवारमा लड्न सिकौं र सिकाऔं।

    आत्महत्या होइन — जीवन रोजौं।

    प्रकाशित : सोमबार, २ भाद्र २०८२ , ०५:३४ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend