logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

 सम्पादकीय: यी पाँच बानी कहिल्यै पनि आफ्ना छोराछोरीलाई सिक्न नदिनूँ

 सम्पादकीय: यी पाँच बानी कहिल्यै पनि आफ्ना छोराछोरीलाई सिक्न नदिनूँ


  • मंगलबार, भाद्र २४ २०८२
  • 455
    SHARES

     सम्पादकीय

    बालबालिकाको सोचाइ (perception), रोजाइ (decision) र भोगाइ (experience) बिना कुनै प्रयास स्वतःस्फूर्त रूपमा अभ्यासमा प्रकट हुन्छ भने त्यसलाई उसको ‘बानी’का रूपमा चिनिन्छ । १२ वर्षको उमेरसम्म बालबालिकाले जे सिक्छन् वा जे सिकाइन्छ त्यसैका भरमा उनीहरुको बाँकीको जीवन प्रभावित हुनेगर्दछ । यो अवधि मानसिक, शारीरिक, सामाजिक, संवेगात्मक, नैतिक, बौद्धिक आदि पक्षको विकासका लागि अत्यन्त संवेदनशील र महत्त्वपूर्ण रहन्छ । १२ वर्षको उमेर पछिको जीवनमा दिनहुँ यिनै सोचाइ, रोजाइ र भोगाइको पुनरावृत्ति भइरहने हुँदा अभिभावकहरुले उच्च सतर्कता अपनाउनुपर्ने हुन्छ ।भारतका महान् विद्वान आचार्य चाणक्य केवल राजनीति र कूटनीतिका ज्ञाता मात्र नभई जीवन व्यवस्थापन (लाइफ म्यानेजमेन्ट) का पनि अद्वितीय ज्ञानी मानिन्छन् । उनका नीति–सिद्धान्तहरू आज पनि परिवार, शिक्षा, सम्बन्ध र छोराछोरीको पालन–पोषणमा मार्गदर्शक बनेका छन् ।

    चाणक्यका अनुसार, अभिभावकको सबैभन्दा ठूलो जिम्मेवारी भनेको आफ्ना सन्तानलाई राम्रो–नराम्रो छुट्याउन सिकाउनु र गलत बानी तथा ट्रेन्डहरूबाट टाढा राख्नु हो । उनका विचारमा यी पाँच बानी बच्चामा कहिल्यै पनि बस्न दिनु हुँदैन :

    १. झूट बोल्ने बानी

    चाणक्य भन्छन्, झूट बोल्ने मानिस समाजमा कहिल्यै सम्मान पाउँदैन । यदि बालबालिकाले सानै उमेरदेखि झूट बोल्न सिके भने यो बानी विस्तारै स्वभावमै परिणत हुन्छ । यसले विश्वास तोड्नुका साथै भविष्यमा उनीहरूको करियर र सम्बन्धमा पनि खराब असर पार्छ । त्यसैले अभिभावकले आफ्ना बच्चालाई झूट बोल्नै नदिने कठोर नियम बनाउनुपर्छ ।

    २. गलत संगत

    चाणक्य नीतिमा भनिएको छ, साथीहरूको प्रभाव बच्चाको भविष्यमा गहिरो पर्छ । गलत संगतमा परे बालबालिकाले गालीगलौज, झूट, नशा र पढाइप्रति उदासीनता जस्ता खराब बानी सिक्न सक्छन् । जस्तै दूधमा मिसाइएको विषले सम्पूर्ण दूध बिगार्छ, त्यस्तै खराब संगतले जीवन नै बिगारिदिन्छ । त्यसैले पितामाताले सन्तानलाई सधैं सही–गलत छुट्याउने शिक्षा दिनुपर्छ ।

    ३. आलस्यको प्रवृत्ति

    आचार्य चाणक्यका अनुसार आलस्य मानिसको सबैभन्दा ठूलो शत्रु हो । यदि बालबालिकाले हरेक काम टार्ने बानी बसाल्छन् भने उनीहरू जीवनमा कहिल्यै सफल हुँदैनन् । त्यसैले सानैदेखि अनुशासन, कडा मेहनत र लगनशीलता जगाइदिनु अभिभावकको दायित्व हो ।

    ४. समयको दुरुपयोग

    चाणक्य भन्छन्, समयभन्दा ठूलो धन संसारमा केही छैन । बालबालिकाले बचपनदेखि नै आफ्नो समय व्यर्थ कुरामा खर्च गर्ने बानी बसाल्दा उनीहरू लक्ष्यमा कहिल्यै पुग्दैनन् । समयको सदुपयोग गर्नेहरू नै सफल र महान् बन्छन्, त्यसैले बाल्यकालदेखि नै समयको महत्व बुझाउन आवश्यक छ ।

    ५. अपमान गर्ने बानी

    चाणक्य नीतिमा भनिएको छ, जो अरूको सम्मान गर्दैन, उसले पनि समाजमा कहिल्यै सम्मान पाउँदैन । यदि बालबालिकामा अरूलाई अपमान गर्ने प्रवृत्ति बस्यो भने भविष्यमा उनका सम्बन्ध कमजोर हुनेछन् र समाजमा अस्वीकार गरिनेछन् ।

    आचार्य चाणक्यका यी पाँच चेतावनी आज पनि उत्तिकै सान्दर्भिक छन् । परिवार र समाजलाई सुदृढ बनाउन अभिभावकले आफ्ना छोराछोरीलाई यी बानीबाट टाढा राख्न विशेष ख्याल राख्नुपर्ने देखिन्छ । बालबालिकाको बानीका बारेमा कुरा गरेर मात्रै पर्याप्त हुँदैन । सर्वप्रथम मातापितामा पनि ती बानीको विकास भएको हुनुपर्दछ । अनि बल्ल उनीहरु आफ्ना सन्तानमा अभिष्ट बानीको जग बसाल्न सक्षम हुन्छन् ।

    प्रकाशित : मंगलबार, २४ भाद्र २०८२ , ०७:१७ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend