सम्पादकीय
देवीदेवता र ऋषिमुनिहरुकै योगदान तथा ज्ञानले मानवजातिको समुदाय सर्वसम्पन्न छ । हाम्रा इष्ट, आराध्य, वा कुल देवता सबै दैवी शक्ति हुन् जसले हामीलाई मार्गदर्शन गरेर ज्ञानयुक्त बनाइरहेका छन् । श्रीकृष्णको एकोहम बहुस्यामको संकल्प अनुरुप अनन्त ब्रह्माण्डहरु छन् । अनन्त ब्रह्माण्डमा अनन्त सृष्टिहरु रहेका छन् । सृष्टिहरुका लाखौं विभागहरु छन् जसको सन्तुलन, सञ्चालन र विघटन ईश्वरीय नियन्त्रणमा रहेको छ । त्यही ईश्वरीय सत्ताको अंश हुन् मर्त्यलोकका जीवातमाहरु । यसर्थमा मानिसहरु दिव्य तथा पञ्चभूतजन्य सर्वगुणसम्पन्न रचना हुन् जोसँग ज्ञानको अथाहा भण्डार छ । सृष्टिका लाखौं विभागहरुमा एक स्थापत्य र निर्माण विभाग हो । यस अन्तर्गत मन्दिर, दरबार, भवन, रथ, पुल, शिल्प आदि पर्दछन् जसका शिल्पी र नियोजक देव विश्वकर्मा हुन्।
अर्काे विभाग अस्त्र–शस्त्र हो । देवताका दिव्य अस्त्रजस्तै इन्द्रको वज्र, महादेवको त्रिशूल, विष्णुको चक्र आदि निर्माण गर्ने पनि देव विश्वकर्मा नै हुन् ।
त्यसैगरि कला र शिल्प पनि एक विभाग हो । यसमा मूर्तिकला, धातुकला, हस्तकला तथा सबै प्रकारका यान्त्रिक उपकरण पर्दछन् जसका स्वामी देव विश्वकर्मा हुन् ।
यसैगरि अर्काे विभाग यान्त्रिक र प्रविधि हो । यसमा मेसिन, उपकरण, उद्योग र कलकारखाना आदि पर्दछ् जसका अधिष्ठाता देवता स्वयं विश्वकर्मा हुन्।
इन्जिनियरिङ र वास्तु पनि अर्काे महत्त्वपूर्ण विभाग हो । यसमा वास्तुशास्त्र, नगर योजना, भवन डिजाइन आदि पर्दछन् जसका प्रथम आचार्य पनि स्वयं देव विश्वकर्मा हुन् ।
संक्षिप्तमा भन्नुपर्दा संपूर्ण शिल्प–कला, इन्जिनियरिङ र निर्माण विभागका स्वामी देव विश्वकर्मा हुन् ।
नेपाली समाजमा प्रत्येक वर्ष आश्विन शुक्लपक्षको दिन विशेष श्रद्धा र आस्थाका साथ विश्वकर्मा पूजा गरिन्छ। विश्वकर्मा प्राचीन वेद–पुराणमा वर्णित ‘देव शिल्पी’ हुन्, जसले देवालयदेखि लिएर अस्त्र–शस्त्र र दिव्य रथ निर्माण गरेका सृष्टिकर्ताको दर्जा पाएका छन्। मानव सभ्यतामा श्रम, सीप र सिर्जनाको मूल्यलाई स्थापित गर्ने प्रतीकका रूपमा विश्वकर्माको स्मरण हुन्छ। यही कारणले उद्योग, कलकारखाना, मेशिन, उपकरण र निर्माण क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध राख्नेले आजको दिन पूजाआजा गरेर सुरक्षित र उत्पादक श्रमको कामना गर्दछन्।
तर, विडम्बना यही छ कि विश्वकर्माको नाममा पूजा गर्ने समाजले कैयौँ पुस्तादेखि विश्वकर्माका वंशजकै रूपमा परिचित समुदायलाई हेला–हेयको दृष्टिले हेर्दै आएको छ। धातु, काठ, पत्थर, सिलाइ–कटाइदेखि मेसिन मर्मतसम्मका असंख्य सीप बोकेर बसेका यी समुदायले समाजलाई आधार दिएको स्पष्ट छ। तर सामाजिक संरचना यति विकृत छ कि श्रम र सीपलाई सम्मान गर्ने संस्कृति जन्मन सकेको छैन। परिणामस्वरूप, सीपालु वर्गलाई सामाजिक–आर्थिक सीमान्तमा धकेल्ने कार्य निरन्तर हुँदै आएको छ।
आज नेपालले औद्योगिक समृद्धि, प्रविधिको विकास र सीप–केन्द्रित रोजगारीको नारा बुलन्द गरिरहेको छ। तर व्यवहारमा ‘कसको हात सफा, कसको पेशा तल्लो’ भन्ने विभेदकारी सोच अझै गहिरो छ। यही सोचले गर्दा सिलाइ–कालिगढ, सुन–तामाका कामदार, मेकानिक, लुहार, सुवा, दमाई लगायतका समुदायलाई समाजमा बराबरीको दर्जा दिलाउन सकिएको छैन। उनीहरूको पेशा र श्रमलाई पूजा गर्ने तर मान्छेलाई नै हेयको दृष्टिले हेर्ने प्रवृत्ति साँचिकै रुग्ण मानसिकताको परिचायक हो।
विश्वकर्मा पूजाको वास्तविक भाव भनेको सिर्जनालाई सम्मान गर्ने र श्रमलाई पूजा गर्ने हो। जबसम्म हाम्रो समाजले श्रमको इज्जत गर्न सक्दैन, तबसम्म समृद्धिको नाराले अर्थ राख्दैन। विश्वकर्माको पूजा केवल औपचारिक विधि होइन, श्रमिक र सीपालुलाई समान व्यवहार गर्ने संस्कारको जागरण हो।
यस अवसरमा हामी सबैलाई स्मरण हुनुपर्छ—देशलाई समृद्ध बनाउन सरकारको मात्र नीतिले पुग्दैन, श्रमलाई सम्मान गर्ने सामाजिक चेतना आवश्यक छ। विश्वकर्मा पूजाले हामीलाई यही पाठ दिन्छ। अबको आवश्यकता हो, विश्वकर्मा समुदाय मात्र होइन, सीप–पेशामा आधारित सबै समुदायलाई समान सम्मान र अवसरको ग्यारेन्टी गर्ने। यही बाटो संगठित समाज र समृद्ध नेपालतर्फको अग्रसरता हुनेछ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
