logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

कांग्रेसले कार्यवाहक सभापति नदिने, विशेष महाधिवेशन नगर्ने निर्णय

कांग्रेसले कार्यवाहक सभापति नदिने, विशेष महाधिवेशन नगर्ने निर्णय


  • शुक्रबार, असोज ३ २०८२
  • 780
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले तत्काल कसैलाई पनि कार्यवाहक सभापति नदिने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले सभापति शेरबहादुर देउवा स्वस्थ नहुन्जेलसम्म कार्यवाहक नियुक्त नगर्ने र विशेष महाधिवेशन पनि नगर्ने निर्णय गरेको हो।

    बैठकपछि सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिँदै भने, ‘तत्काललाई कसैलाई पनि कार्यवाहक सभापतिको जिम्मेवारी नदिने र पार्टीको विशेष महाधिवेशन पनि नबोलाउने निर्णय कार्यसम्पादन समिति बैठकले गरेको छ । सभापति देउवा स्वस्थ भएपछि केन्द्रीय समिति बैठक बोलाएर त्यसमा छलफल गर्ने निर्णय भएको छ ।’

    देउवा गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित निवासमा कुटिएका थिए । हाल उनी उपचाररत छन् । सहमहामन्त्री यादवका अनुसार सभापति देउवा स्वास्थ्य लाभ भएपछि दशैं–तिहारपछि केन्द्रीय समिति बैठक आह्वान गरिने छ ।

    यसैबीच, पार्टीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा बाह्य घुसपैठ भएको निष्कर्ष निकालेको छ । सहमहामन्त्री यादवले भने, ‘जेनजी आन्दोलनका क्रममा घुसपैठ भएको छ । घुसपैठ गर्नेहरूले खर्बौँ मूल्य बराबरको निजी तथा सार्वजनिक सम्पत्ति जलाएका छन् ।’

    बैठकले सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी गर्ने घटनाको गहिरो छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ । साथै, आन्दोलनका क्रममा कांग्रेसका अधिकांश कार्यालय र शीर्ष नेताहरूका घरमा समेत भएको आगजनीको बैठकले निन्दा गरेको यादवले बताए ।

    प्रकाशित : शुक्रबार, ३ असोज २०८२ , ०२:२० बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend