logo

आइतबार, २८ भाद्र २०८३

आइतबार, भाद्र २८ २०८३

मन्त्री डा. महावीर पुनका तीन महत्त्वपूर्ण निर्णय : विद्यालयमा कम्प्युटर शिक्षक, विश्वविद्यालयमा छिटो नतिजा, कीर्तिपुरमा सफाइ अभियान

मन्त्री डा. महावीर पुनका तीन महत्त्वपूर्ण निर्णय : विद्यालयमा कम्प्युटर शिक्षक, विश्वविद्यालयमा छिटो नतिजा, कीर्तिपुरमा सफाइ अभियान


  • बुधबार, असोज ८ २०८२
  • 949
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा. महावीर पुनले पदभार सम्हालेको दोस्रो दिन मंगलबार मन्त्रालयमै बसेर तीनवटा महत्त्वपूर्ण निर्णय सार्वजनिक गरेका छन्। उनले तत्काल कार्यान्वयन गर्न सकिने ठोस कदम उठाउँदै शिक्षा क्षेत्रलाई परिणाममुखी बनाउन प्रतिबद्धता जनाएका हुन्।

    पहिलो निर्णयअनुसार, अब नेपालभरका सामुदायिक माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षालाई अनिवार्य बनाइने छ। यसका लागि प्रत्येक विद्यालयमा कम्तीमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी थप्ने व्यवस्था गरिने मन्त्री पुनले बताए।

    दोस्रो निर्णयमा, विश्वविद्यालयहरूले परीक्षा लिएर महिनौं ढिलाइ गर्ने प्रथाको अन्त्य गर्न निर्देशन दिइएको छ। अब बढीमा तीन महिनाभित्रै परीक्षाफल प्रकाशित गर्नुपर्ने व्यवस्था लागू गरिने मन्त्री पुनले स्पष्ट पारे। समयमा नतिजा ननिकाल्ने विश्वविद्यालयहरूको अनुदान रोक्का गरिने चेतावनीसमेत उनले दिएका छन्। उनले उदाहरण दिँदै भने, “राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाका पाँच लाख विद्यार्थीको नतिजा तीन महिनाभित्र निकाल्न सक्छ भने विश्वविद्यालयले किन सक्दैन?”

    तेस्रो निर्णयमा, त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसरमा फैलिएको झाडी सफा गरी वातावरणमैत्री तरिकाले बगैँचा र फुटपाथ निर्माण गर्ने योजना अघि बढाइने घोषणा गरिएको छ। ठूला रुख नकटाई परिसरलाई व्यवस्थित र आकर्षक बनाइने मन्त्री पुनले बताएका छन्।

    यी तीन निर्णयलाई शिक्षा क्षेत्रमा सुधार र दक्षता बढाउन मन्त्री पुनले तत्कालिक प्राथमिकता दिएका छन्।

    प्रकाशित : बुधबार, ८ असोज २०८२ , १०:४६ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend