लोकसारथि संवाददाता, काठमाडौं ।
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेकपा र नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकताको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ।
हालै बसेका ती दलका बैठकहरूले विचार र सिद्धान्त मिल्ने पार्टीहरूसँग एकता गर्ने निर्णय गर्दै प्रक्रिया अगाडि बढाएका हुन्।
माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले भदौ ३ गतेको केन्द्रीय सचिवालय बैठकमार्फत सम्पूर्ण कम्युनिस्ट, वामपन्थी र समाजवादी शक्तिलाई एकताबद्ध हुन औपचारिक अपिल गरेको थियो। बैठकपछि जारी विज्ञप्तिमा ‘मुलुकमा उत्पन्न विषम परिस्थिति र चुनौतीपूर्ण अवस्थामा उपलब्धिहरूको रक्षा गर्न वामपन्थी शक्तिहरू गम्भीर भएर अघि बढ्न जरुरी रहेको’ उल्लेख गरिएको छ।
त्यस्तै, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले भदौ २३–२६ सम्म कपिलवस्तुमा बसेको केन्द्रीय समिति बैठकबाटै एकताको निर्णय गर्दै खड्गबहादुर विश्वकर्माको नेतृत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको छ। उक्त समितिमा अनिल शर्मा र कर्णजित बुढाथोकी सदस्य रहेका छन्।
यसअघि साउन १९ गते बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले पनि नेकपा लगायत कम्युनिस्ट पार्टीहरूसँग एकता गर्ने निर्णय गरेको थियो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त केन्द्रीय समिति बैठकमै समाजवादी मोर्चाका घटकसँग पार्टी एकता गर्ने र देशभक्त तथा परिवर्तनकारी शक्तिसँग बृहत् मोर्चा बनाउने प्रस्ताव राख्ने तयारी गरेका छन्।
समाजवादी मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा र नेसपा रहेका छन्। ती दलबीच पछिल्ला महिनामा पटक–पटक छलफल हुँदै आएको र अब सम्भव भएसम्म चारै दलबीच एकताको गृहकार्य तीव्र पारिएको नेताहरूले बताएका छन्।
एकीकृत समाजवादीका नेता बेदुराम भुसालले कम्युनिस्ट पार्टी एकताका लागि तीनवटै पार्टीले औपचारिक निर्णय गरिसकेको हुँदा अब ढोका खुलेको बताए। माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले “विचार मिल्ने कम्युनिस्ट पार्टीसँग एकताका लागि पहल भइरहेको र सकेसम्म समाजवादी मोर्चालाई नै एकतामा रूपान्तरण गर्ने” बताएका छन्।
नेसपा अध्यक्ष महेन्द्र राय यादवले पनि मोर्चाभित्र एकताको विषयमा निरन्तर छलफल भइरहेको बताए।
भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’पछि मुलुकमा उत्पन्न नयाँ राजनीतिक परिस्थितिले पुराना दलहरूलाई रूपान्तरण र एकताका लागि थप दबाब परेको छ। यही दबाबबीच उनीहरूले एकताको गृहकार्यलाई तीव्रता दिएका हुन्।
उक्त आन्दोलनपछि नेपाली कांग्रेस–नेकपा एमाले गठबन्धनको सरकार सत्ताच्युत भइसकेको छ भने पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भई आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको मिति समेत घोषणा भइसकेको छ।

-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
