लोकसारथि संवाददाता, काठमाडौं ।
आज आश्विन शुक्ल नवमीका दिन नेपालभर महानवमी पर्व विधिपूर्वक मनाइँदैछ । दशैँ पर्वअन्तर्गत पर्ने यस दिन नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरिने परम्परा छ ।
महानवमीका दिनमा घटस्थापनाको बेला राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । साथै, दशैँघर, कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा दुर्गा भवानीलाई विशेष पूजा गर्दै दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।
यस दिन बलि दिने परम्पराअनुसार विभिन्न स्थानमा बोका, हाँस, कुखुरा, भेडा र राँगाको बलि दिइन्छ । पशुबलि नदिने शाकाहारीहरू भने कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवललाई बलिको प्रतीकका रूपमा चढाउने गर्छन् । कतिपय स्थानमा भने महानवमीका दिन ‘मार हान्ने’ र महाष्टमीकै दिन बलि दिने चलन रहेको छ ।
धार्मिक विश्वासअनुसार, मार्कण्डेय पुराणमा उल्लिखित चामुण्डा देवीले रक्तबीज राक्षसलाई पराजित गरेको दिन महानवमी भएकाले यस दिनलाई विशेष महत्त्वका साथ लिइन्छ ।
नवरात्रको अन्तिम दिनका अवसरमा आज देशभरका शक्तिपीठमा दर्शन र पूजाआराधनाका लागि भक्तजनको ठूलो भीड लागेको छ । घरघरमा पनि नवदुर्गामध्येकी नवौँ देवी सिद्धिदात्रीको पूजाआराधना गरी कन्या पूजन र दक्षिणा दिने परम्परा छ । साथै, महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा गरिन्छ ।
यसै अवसरमा कोतमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा गर्ने परम्परा छ । हनुमानढोका दरबार, नेपाली सेनाका ब्यारेक र गुल्महरूमा आज जङ्गी निशाना पूजा तथा कोतपूजा विशेष विधिपूर्वक सम्पन्न हुँदैछ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
