लोकसारथि संवाददाता, काठमाडौं ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मौखिक आदेशको भरमा मनपरी गर्न थालेको आरोप लगाएका छन्। उनले आफूलाई काठमाडौं उपत्यका बाहिर जान रोक लगाएकोप्रति तीव्र आपत्ति जनाउँदै यस्तो कदम लोकतान्त्रिक मूल्यविरुद्ध भएको टिप्पणी गरेका छन्।
शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने,
“चुनाव गराउने रे! झापा मेरो घर जलाइयो, जान नपाउने। साँगा कटेर जान नपाउने रे! म नेपाल सरहदभित्र जतिबेला आवश्यक छ, जतिबेला चाहिन्छ, जान्छु। के कानुनले समाउँछ? कुन लोकतन्त्रले थुन्छ मलाई?”
उनले सरकारको कदमप्रति असन्तोष जनाउँदै ‘मौखिक आदेशले मनलाग्दी गर्न बन्द गर्न’ चेतावनी दिए। ओलीका अनुसार दलका नेताहरूलाई मौखिक आदेशमार्फत रोकेर निर्वाचन गर्न खोज्नु नै लोकतन्त्रको अपमान हो।
“मौखिक आदेशले जे पनि गर्छ? हदबन्दी गर्ने, दलहरूलाई चुनावमा जान नदिने, अनि फागुन २१ मा चुनाव गर्ने? यस्तो कस्तो लोकतन्त्र हो?” उनले प्रश्न गरे।
“हामी जेलभित्र बसेर देशका लागि लड्ने हुतिहारा होइनौं”
ओलीले आफू र आफ्नो दल देश र लोकतन्त्रका लागि जेलभित्र बसेर संघर्ष गरेको पार्टी भएको भन्दै वर्तमान सरकारलाई चुनौती दिए। उनले भने,
“हामी कमजोर हुतिहारा होइनौं। अपराधीहरू प्रहरीको बर्दीमा हातहतियार बोकेर चुनावको बुथमा आउने छन् भने त्यो चुनाव कस्तो हुन्छ? कि सम्झौता छ अपराधीहरूसँग?”
“यो म्याद नतोकिएको म्यादी सरकार हो”
ओलीले वर्तमान सरकारलाई “म्याद नतोकिएको म्यादी सरकार” भन्दै त्यसको वैधानिकता र स्थायित्वमाथि प्रश्न उठाए।
“यो एउटा भुल्को हो। यो सरकार म्याद नतोकिएको म्यादी सरकार हो। जग नभएको, यसो हल्लाउँदा पुक्लुक्क हुने सरकार हो,” ओलीले व्यंग्य गर्दै भने, “जसको जग नै छैन, त्यो हल्लिँदा ढल्ने निश्चित छ। अनि यस्तो सरकारले यत्रा धाकधम्की देखाउँछ?”
“जेनजीहरूले झण्डा ओढेर सिंहदरबारमा आगो लगाउन सक्दैनन्”
सिंहदरबारमा आगो लगाउने काम कसैले राष्ट्रिय झण्डा ओढेर गर्न नसक्ने बताउँदै ओलीले भने,
“जेनजीहरूले राष्ट्रिय झण्डा ओढेर सिंहदरबारमा आगो लगाउने काम गर्न सक्दैनन्, र जेनजीले नै त्यस्तो गरेको पनि छैन।”
अध्यक्ष ओलीले अन्त्यमा चेतावनी दिँदै भने—
“जनताको अधिकार, दलहरूको स्वतन्त्रता र लोकतन्त्रको मर्ममाथि मौखिक आदेशले खेलवाड गर्न खोजियो भने हामी चुप लाग्दैनौं।”
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
