logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

“सुशीला कार्कीको सरकार आगजनी र लुटपाटबाट जन्मिएको असंवैधानिक सरकार”—ओली

“सुशीला कार्कीको सरकार आगजनी र लुटपाटबाट जन्मिएको असंवैधानिक सरकार”—ओली


  • शनिबार, कार्तिक १ २०८२
  • 585
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हालको सरकारलाई “आगजनी, तोडफोड र लुटपाटबाट जन्मिएको असंवैधानिक सरकार” भन्दै कडा शब्दमा आलोचना गरेका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित चियापान कार्यक्रममा सम्बोधन गर्दै उनले सुशीला कार्की नेतृत्वको सरकार संविधान र कानुनले कतैबाट नचिनेको आरोप लगाए।

    ओलीले भने,

    “यो असंवैधानिक सरकार हो, कुन संविधानअनुसार बनेको हो ? जनप्रतिनिधिको सर्वोच्च संस्था विघटन गर्ने अधिकार कसले दियो ? यो क्रान्ति होइन, प्रतिक्रान्ति हो, जसले देशलाई हिंसा र अराजकतामा धकेलेको छ।”

    “देशमा शान्ति एमालेकै कारण सम्भव भयो”

    अध्यक्ष ओलीले देशमा शान्ति र स्थायित्व केवल एमालेकै कारण सम्भव भएको दाबी गरे। उनले भने,

    “अहिले जेनजी आन्दोलनमार्फत शान्ति–सुरक्षालाई अस्तव्यस्त बनाइएको छ। प्रहरीका १,२०० हतियार र एक लाख गोली लुटिएका छन्, अटोमेटिक गन लुटिएको छ, साढे पाँच हजार कैदी अझै बाहिर छन् — के यो मजाक हो?”

    ओलीका अनुसार यस्तो परिस्थितिमा चुनाव गराउने नाममा नाटक भइरहेको छ।
    उनले व्यंग्य गर्दै भने,

    “दलहरूलाई चुनावमा भाग लिन नदिई एकलौटी निर्वाचन गर्ने तयारी भइरहेको छ। जेनजीको नाममा आन्दोलन गरेर प्रधानमन्त्री बन्ने खेल मात्रै चलेको छ।”

     “बंगलादेशको उदाहरण हामीले हेर्नुपर्छ”

    ओलीले बंगलादेशको जेनजी आन्दोलनको उदाहरण दिँदै चेतावनी दिए।

    “त्यहाँ पनि जेनजी आन्दोलनले ७५ वर्षका नेतालाई हटाएर ८५ वर्षकालाई ल्यायो। त्यो आन्दोलन अहिले कहाँ गयो?”
    उनले भने, “नेपालमा पनि आन्दोलनको नाममा भ्रम फैलाएर सत्ताको खेल खेल्ने प्रयास हुँदैछ।”

    “मलाई जहाँ जान मन लाग्छ, रोक्न सकिँदैन”

    ओलीले सरकारले आफूलाई काठमाडौं उपत्यका बाहिर जान रोक्न खोजेको आरोप लगाउँदै भने,

    “मलाई जहाँ जान मन लाग्छ, त्यहाँ जान्छु, कसैले रोकेर केही गर्न सक्दैन। यो देश मेरो पनि हो। जो जहाँ छन्, जिम्मेवार भएर चल्नुपर्छ।”

    “अहिलेको सरकारको उद्देश्य त्रास फैलाउनु हो”

    ओलीले हालको सरकारको उद्देश्य शान्ति र विकास नभई त्रास फैलाउने रहेको बताए।
    उनले संसद् पुनर्स्थापना र लुटिएका हतियार फिर्ता नभएसम्म चुनाव सम्भव नहुने दाबी गरे।

    “अपराधीहरू पक्राउ नपरेसम्म र हतियार फिर्ता नभएसम्म निष्पक्ष चुनाव सम्भव छैन,” उनले जोड दिए।

    “प्रहरी हाम्रै हो, त्यसको रक्षा गर्नुपर्छ”

    ओलीले प्रहरी संस्थाप्रति समर्थन जनाउँदै भने,

    “प्रहरी हाम्रै हो, त्यसको रक्षा गर्नुपर्छ। अहिले प्रहरीहरू प्रहारको निशानामा परेका छन्।”

    “जेनजीले आगो लगाएको होइन, कसैले बियाँ टाँसेको हो”

    ओलीले जेनजी आन्दोलनका घटनाहरूमा सरकारको दृष्टिकोणलाई व्यंग्य गर्दै भने,

    “जेनजीले सिंहदरबारमा आगो लगाएको होइन, उसको गालामा कसैले काँक्रोको बियाँ टाँसिदिएको हो। खोज्नुपर्ने त्यो व्यक्ति हो जसले बियाँ टाँस्यो।”

    उनले थपे,

    “जसलाई सुरक्षा चाहिएको छैन, उसलाई सुरक्षा दिइएको छ। जसलाई साँच्चै आवश्यक छ, उसको सुरक्षा हटाइएको छ। यस्तो कुरा उठाउँदा पनि सरकार रिसाउँछ।”

    अध्यक्ष ओलीको यस अभिव्यक्तिले देशको पछिल्लो राजनीतिक अस्थिरता, जेनजी आन्दोलन, र आगामी चुनावबारे एमालेको कडा र चुनौतीपूर्ण धारणा पुनः स्पष्ट पारेको छ।

    प्रकाशित : शनिबार, १ कार्तिक २०८२ , ०६:४९ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend