logo

बिहिबार, २५ भाद्र २०८३

बिहिबार, भाद्र २५ २०८३

छठ पर्वको दोस्रो दिन आज ‘खरना’ विधिवत् रूपमा मनाइँदै

छठ पर्वको दोस्रो दिन आज ‘खरना’ विधिवत् रूपमा मनाइँदै


  • आइतबार, कार्तिक ९ २०८२
  • 975
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    काठमाडौं । सूर्य उपासना तथा आस्था, श्रद्धा र शुद्धताको पर्व छठको दोस्रो दिन आइतबार देशभरका भोजपुरी बहुल क्षेत्रमा ‘खरना’ विधिवत् रूपमा मनाइँदैछ। कार्तिक शुक्ल पञ्चमी तिथिका दिन पर्ने यो पर्वलाई स्थानीय भाषामा ‘रसियाव रोटी’ पनि भनिन्छ।

    ‘नहाय खाय’का साथ शनिबारदेखि सुरु भएको छठ पर्वमा आज व्रतालुहरूले बिहानै नुहाएर चोखो भई पूजा तयारी गरेका छन्। खरनाको दिन बिहान आँपको दतिउनले दाँत माझ्ने, नुहाउने र दिनभर निर्जला व्रत बस्ने परम्परा रहेको छ। साँझपख घरमा गाईको गोबरले लिपपोत गरी पूजा कोठा चोख्याइन्छ र माटोको नयाँ चुल्होमा आँपको दाउरा बालेर रसियाव रोटी पकाइन्छ।

    यस दिन सख्खर, दूध, पानी र चामल मिसाएर ‘रसियाव’ नामक खिरजस्तो पकवान बनाइन्छ, साथै माटाको भाँडामा गहुँको रोटी पनि बनाइन्छ। चन्द्रोदयपछि केराको पातमा राखी छठी माता, सूर्य भगवान र कुलदेवताहरूलाई चढाइने चलन छ। पूजापाठ सम्पन्न भएपछि व्रतालुहरूले नै पहिलो प्रसाद ग्रहण गर्छन् र त्यसपछि परिवारका सबै सदस्यहरूले बाँडेर खाने परम्परा छ।

    खरनाको दिन व्रतालुले नुन प्रयोग नगरेको भोजन ग्रहण गर्छन् र त्यसपछि सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्य नदिएसम्म निर्जल व्रत बस्ने परम्परा छ।

    छठ पर्व चार दिनसम्म चल्ने पर्व हो। पहिलो दिनलाई ‘नहाए खाए’, दोस्रो दिन ‘खरना’, तेस्रो दिन ‘सँझीया घाटे’ र चौथो दिन ‘भोरे घाट’ भनिन्छ।
    षष्ठी तिथिका दिन व्रतालुहरू नदी, पोखरी, ताल तथा जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गर्छन्, भने सप्तमीका बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व समापन हुन्छ।

    कठोर व्रत र शुद्ध आचरणका साथ मनाइने यो पर्वले सूर्य उपासना, आत्म–संयम, सत्य र अहिंसाको प्रतीक मानिन्छ।
    पारिवारिक सुख, शान्ति, कल्याण र मनोकांक्षा पूरा हुने विश्वासका साथ छठ पर्व शनिबारदेखि देशभर सुरु भइसकेको छ।

    प्रकाशित : आइतबार, ९ कार्तिक २०८२ , ०९:२९ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend