logo

मंगलबार, २३ भाद्र २०८३

मंगलबार, भाद्र २३ २०८३

पूर्व डीआईजीपी रमेश खरेलको आरोप : ‘ओली, प्रचण्ड र देउवा महाभ्रष्टाचारी हुन्’

पूर्व डीआईजीपी रमेश खरेलको आरोप : ‘ओली, प्रचण्ड र देउवा महाभ्रष्टाचारी हुन्’


  • मंगलबार, कार्तिक ११ २०८२
  • 1.7K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) रमेश खरेलले निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई महाभ्रष्टाचारी भएको आरोप लगाएका छन्। उनले नेपाली राजनीतिका शीर्ष नेताहरू नै देशको संकटका प्रमुख कारण भएको दाबी गरेका छन्।

    एक टेलिभिजन अन्तर्वार्ताका क्रममा खरेलले ओलीसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि महाभ्रष्टाचारी ठहर गरेका हुन्।

    उनका शब्दमा, “खड्गप्रसाद ओली महाभ्रष्टाचारी हो, शेरबहादुर देउवा भ्रष्टाचारी हो, प्रचण्डजी महाभ्रष्टाचारी हो — यो कुरा मैले बताइरहनै पर्दैन।”

    तर, उनले गत भदौ २३ र २४ गते जेन-जी आन्दोलनका क्रममा भएको गोलीकाण्डमा तत्कालीन प्रधानमन्त्री ओलीको प्रत्यक्ष आदेश नरहेको स्पष्ट पारे। “गोली चलाउनू भनेर कसैले पनि भन्दैन,” खरेलले भने, “प्रधानमन्त्री र गृहमन्त्रीहरूले गोली चलिसकेपछि मात्रै थाहा पाउने हो। ‘डेलिगेशन अफ अथोरिटी’ अनुसार जिम्मेवारी भ्यालीकै इमिडेट कमाण्डरको हो।”

    उनका अनुसार प्रहरी ऐन तथा स्थानीय प्रशासन ऐन २०२८ अनुसार मैदानमा खटिएको कमाण्डरले तत्कालीन परिस्थिति अनुसार गोली चलाउने वा नचलाउने निर्णय लिन सक्छ।
    “मैदानमा खटिएको कमाण्डरले कसैको आदेश कुर्नु पर्दैन,” उनले भने, “त्यो क्षणको निर्णय स्वयं कमाण्डरकै बिवेकमा निर्भर हुन्छ।”

    खरेलले भने, “गोली चलाउन प्रधानमन्त्री वा गृहमन्त्रीको आदेश आवश्यक पर्दैन, तर जे–जे भयो त्यसको नैतिक जिम्मेवारी चाहिँ उनीहरूकै हुन्छ।”

    उनले कानुनी हिसाबले जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारी (सीडीओ) नै प्रत्यक्ष जिम्मेवार हुने स्पष्ट पारे। “राम्रो हुँदा स्याबासी पाउने र नराम्रो हुँदा करेक्सन हुने पनि जिल्ला प्रशासन नै हो,” उनले थपे।

    खरेलका अनुसार भदौ २३ र २४ को घटना केवल सुरक्षाकर्मीको निर्णयका कारण मात्र नभई, विगत ३२ वर्षदेखि राजनीतिक दलहरूले देशमा फैलाएको भ्रष्टाचार, बेइमानी र शोषणको परिणाम हो।
    “उहाँहरूकै कारण यो अवस्था आएको हो,” उनले भने, “बेइमान, भ्रष्टाचारी र ठग त उहाँहरू हो। तिनै महाठगहरूले देशलाई दशकौँसम्म शोषण गरे, त्यसकै कारण आज जनविद्रोह उत्पन्न भएको हो।”

    लोकसारथि संवाददाता, काठमाडौं ।

    प्रकाशित : मंगलबार, ११ कार्तिक २०८२ , १२:१६ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend