logo

बुधबार, २४ भाद्र २०८३

बुधबार, भाद्र २४ २०८३

स्मार्ट लाइसेन्स छपाइ सोमबारदेखि सुरु, अब चिपको सट्टा क्यूआर कोड हुने

स्मार्ट लाइसेन्स छपाइ सोमबारदेखि सुरु, अब चिपको सट्टा क्यूआर कोड हुने


  • आइतबार, कार्तिक १६ २०८२
  • 923
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइका कार्य आगामी सोमबारदेखि पुनः सुरु हुने भएको छ। सुरक्षण मुद्रण केन्द्रले बनेपास्थित कार्यालयमार्फत दैनिक कम्तीमा ५०० वटा स्मार्ट लाइसेन्स छाप्न सुरु गर्ने तयारी गरेको छ।

    यातायात व्यवस्था विभागका निर्देशक नरहरि तिवारीका अनुसार बनेपामा छापिएका लाइसेन्स विभागलाई हस्तान्तरण गरिनेछ र त्यसपछि विभागले सेवा ग्राहीलाई वितरण गर्नेछ। तिवारीले भने, “सुरक्षण मुद्रण केन्द्रले छपाइको काम हातमा लिएको छ। हामीले प्राप्त भएका लाइसेन्स तत्काल वितरण गर्न थाल्छौं।”

    विभागका तथ्यांकअनुसार हाल करिब २५ लाख सवारी चालक अनुमति पत्र छाप्न बाँकी छ। तीमध्ये १२ लाख लाइसेन्स सुरक्षण मुद्रण केन्द्रले तीनदेखि छ महिनाभित्र छाप्ने तयारी गरेको छ।

    अब ‘स्मार्ट कार्ड’ मा चिप होइन, क्यूआर कोड

    यसअघि विभागले वितरण गर्दै आएको स्मार्ट लाइसेन्समा चिप जडान गरिएको थियो। तर अब सुरक्षण मुद्रण केन्द्रले तयार गर्ने नयाँ लाइसेन्समा चिप हटाएर क्यूआर कोड प्रणाली लागू गरिने भएको छ।

    केन्द्रका उपसचिव गोपालराज तिमिल्सिनाका अनुसार, “नयाँ कार्ड पनि स्मार्ट नै हुनेछ, तर त्यसमा चिपको सट्टा क्यूआर कोड रहन्छ।” उनका अनुसार क्यूआर कोडमार्फत प्रयोगकर्ताको सम्पूर्ण विवरण सुरक्षित रूपमा डिजिटल प्रणालीमा जडान गरिनेछ।

    लागत र बजेट व्यवस्था

    सवारी लाइसेन्स छपाइको सम्पूर्ण खर्च यातायात व्यवस्था विभागले व्यहोर्ने भएको छ। केन्द्रले एक वटा लाइसेन्स छाप्न करिब १९५ रुपैयाँ १७ पैसा (करबाहेक) लागत अनुमान गरेको छ। सोही आधारमा विभागले आवश्यक बजेट केन्द्रलाई उपलब्ध गराउने समझदारी भएको छ।

    प्राविधिक परीक्षण अन्तिम चरणमा

    गत बुधबार विभागका महानिर्देशक राजीव पोखरेल र केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गाना बीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो। हाल विभागले सर्भर डेटा र प्रविधि परीक्षण अन्तिम चरणमा पुर्‍याएको छ।

    निर्देशक तिवारीका अनुसार, “द्रुत गतिमा प्राविधिक परीक्षण भइरहेको छ। सबै पक्ष सक्रिय छन्, परीक्षणपछि तत्काल सेवा वितरण सुरु हुनेछ।”

    जेनजी आन्दोलनपछि बन्द भएको थियो छपाइ

    गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा यातायात व्यवस्था विभागको कार्यालयमा भएको तोडफोड र आगजनीका कारण लाइसेन्स छपाइ मेसिन पूर्णरूपमा ध्वस्त भएको थियो। त्यसपछि लाइसेन्स छपाइ अनिश्चितकालका लागि बन्द गरिएको थियो।

    त्यसपछि अत्यावश्यक सेवाका लागि मात्रै सीमित संख्यामा लाइसेन्स छापिए पनि वैदेशिक रोजगारीका लागि विदेश जाने श्रमिक र अन्य सेवाग्राहीहरू गम्भीर मर्कामा परेका थिए।

    अब भने विभागले सुरक्षण मुद्रण केन्द्रमार्फत नयाँ स्वरूपको स्मार्ट लाइसेन्स वितरण गरेर लामो समयदेखि रोकिएको सेवा पुनः सञ्चालन गर्ने तयारी गरेको छ।

    प्रकाशित : आइतबार, १६ कार्तिक २०८२ , ०१:५७ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend