logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

निर्वाचन आयोगमा ‘श्रम संस्कृति पार्टी’ दर्ता, हर्क साम्पाङले लिए प्रमाणपत्र

निर्वाचन आयोगमा ‘श्रम संस्कृति पार्टी’ दर्ता, हर्क साम्पाङले लिए प्रमाणपत्र


  • आइतबार, कार्तिक १६ २०८२
  • 715
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले स्थापना गरेको ‘श्रम संस्कृति पार्टी’ निर्वाचन आयोगमा आधिकारिक रूपमा दर्ता भएको छ। साम्पाङले आइतबार आयोगमा उपस्थित भएर पार्टी दर्ताको प्रमाणपत्र ग्रहण गरेका हुन्।

    निर्वाचन आयोगका अनुसार उक्त पार्टी दर्ता नं. २०४ मा दर्ता भएको हो। प्रमाणपत्रमा पार्टीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–४ मा रहेको उल्लेख छ।

    “देश विकासका लागि श्रमलाई केन्द्रमा राख्ने लक्ष्य”

    पार्टीको औपचारिक मान्यता पाएपछि साम्पाङले देश विकासका लागि श्रम र आत्मनिर्भरतालाई मूल मन्त्र बनाउने बताएका छन्। उनले भने, “हाम्रो उद्देश्य देशभरका युवालाई श्रमप्रेमी बनाउने र श्रममार्फत आत्मनिर्भर समाज निर्माण गर्ने हो।”

    साम्पाङले आफ्नो भूमिकाबारे स्पष्ट गर्दै भने, “धरान उपमहानगरभित्र म मेयरको जिम्मेवारीमा छु, तर त्यसबाहिर सामाजिक अभियान्ताको रूपमा देशका युवालाई श्रम र जागरणतर्फ प्रेरित गर्दै अघि बढ्नेछु।”

    पाँच पदाधिकारी र २८ केन्द्रीय सदस्य

    हाल ‘श्रम संस्कृति पार्टी’मा ५ पदाधिकारी र २८ जना केन्द्रीय सदस्य रहेका छन्। पार्टीको चुनाव चिन्ह ‘माटोको ढिस्को’ तोकिएको छ, जसले श्रम, माटो र उत्पादनको प्रतीकका रूपमा अर्थ राख्ने साम्पाङले बताए।

    साम्पाङको नयाँ राजनीतिक पहललाई धेरैले स्थानीय तहको सफल प्रशासनिक अभ्यासबाट राष्ट्रिय राजनीतिको दिशातर्फको यात्राका रूपमा व्याख्या गरेका छन्।

    उनले निकट भविष्यमा पार्टीको कार्यविस्तार र सदस्यता अभियान सुरु गर्ने तयारीसमेत गरेका छन्।

    प्रकाशित : आइतबार, १६ कार्तिक २०८२ , ०४:२२ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend