हतुवागढी–१, भोजपुरको ऐतिहासिक धार्मिकस्थल संरक्षणको पहल भए पनि अपेक्षित पहिचान नपाएको स्थानीयको गुनासो
भोजपुर, हतुवागढी । भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक धार्मिकस्थल ‘महादेव थान’ प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ। गाउँपालिकाले पछिल्ला वर्षमा संरक्षण र पूर्वाधार विकासका काम सुरु गरे पनि यस क्षेत्रले अपेक्षित राष्ट्रिय पहिचान पाउन सकेको छैन भन्ने स्थानीयको गुनासो छ।
वि.सं. २०८० देखि गाउँपालिकाले पूजापाठ र सद्बिज छर्ने कार्यक्रम सुरु गरेसँगै महादेव थानको धार्मिक महत्त्व थप बढेको छ। हतुवागढी र रामप्रसाद राई गाउँपालिकाको सङ्गमस्थलमा रहेको यो क्षेत्र विगतमा मेला लाग्ने परम्पराले चर्चित रहँदै आएको थियो। तर, माओवादी द्वन्द्वकालपछि लामो समयसम्म मेला रोकिएको थियो। पछिल्ला वर्षमा स्थानीयको पहलमा त्यो परम्परा पुनःजीवित गरिएको छ।
हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईका अनुसार, गाउँपालिकाले यस क्षेत्रको संरक्षण र पूर्वाधार विकासलाई प्राथमिकता दिइरहेको छ। “यो हाम्रो गाउँपालिकाको एक महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीयस्थल हो,” अध्यक्ष राईले भने, “यसको विकासका लागि हामीले बाटो, फलामको बार, संरचना निर्माणलगायत क्षेत्रमा काम गरिरहेका छौं। अब यसको प्रचारप्रसारमा पनि जोड दिएका छौं।”
गाउँपालिकाले महादेव थानसम्म पुग्ने सडक विस्तार र फलामको बार जडान गरेर भक्तजनको आवतजावत सहज बनाएको छ। साथै, ‘महादेव थान संरक्षण समिति’ गठन गरी संरक्षण र व्यवस्थापनका कामहरू अघि बढाइएका छन्।
अध्यक्ष राईका अनुसार, “गाउँपालिकाले महत्त्वपूर्ण धार्मिकस्थलको रूपमा यसको संरक्षणका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा पनि ध्यान दिएको छ। यसबाट पर्यटन वृद्धि भई स्थानीयको आयस्तरमा सुधार आउने विश्वास गरेका छौं।”
स्थानीय बासिन्दा लालबहादुर प्रधानले भने, “यहाँको गुफा र बनावटले जो–कोहीलाई पनि आश्चर्यचकित बनाउँछ। मन्दिरमा दर्शन गरेपछि मनोकाङ्क्षा पूरा हुने विश्वासले भक्तजन यहाँ आउने गर्छन्।”
प्रधानका अनुसार, बालाचतुदर्शीका दिन विशेष मेला र भजनकीर्तन हुने परम्परा रहेको छ।
गुफासँगै विभिन्न देव–देवीका मूर्तिहरू र प्राकृतिक सौन्दर्यले भरिएको यो स्थान धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले अत्यन्त सम्भावनायुक्त मानिन्छ। स्थानीयको भनाइमा, उचित प्रचारप्रसार र योजनाबद्ध विकास भए महादेव थान हतुवागढीको पहिचान र गौरवस्थल बन्न सक्छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
