काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नयाँ राजनीतिक दल गठन गरेका छन्। ‘सम्मुनत नेपाल पार्टी’ नामक दल दर्ताका लागि कात्तिक ३० गते निर्वाचन आयोगमा औपचारिक रूपमा निवेदन बुझाइएको छ।
पार्टी दर्ता निवेदन राजबाबु यादवले आयोगमा बुझाएका हुन्। पूर्व आईजीपी खनालका अनुसार यो दल “देशलाई नागरिकले नै बनाउने र नेतृत्व पनि जनताकै हातमा हुनुपर्छ” भन्ने मूल दर्शनका साथ स्थापित गरिएको हो।
खनाल पछिल्लो समय निरन्तर रूपमा सक्रिय राजनीतितर्फ उन्मुख देखिएका छन्। उनी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) तर्फबाट काठमाडौं–६ बाट उम्मेदवार बनेका थिए तर पराजित भए। त्यसपछि तनहुँ–१ को उपनिर्वाचनमा पनि प्रतिस्पर्धा गरे तर जित हात लागेन।
लगातारको पराजयपछि अब उनले आफ्नै दलमार्फत राजनीतिक यात्रा अघि बढाउने घोषणा गरेका छन्। “राष्ट्रिय स्वाभिमान, सुशासन र समृद्धि” मुख्य एजेन्डा बनाउँदै खनालले अब स्वतन्त्र राजनीतिक शक्ति निर्माण गर्ने रणनीति अघि सारेका छन्।
दल दर्ता प्रक्रिया अघि बढेसँगै सर्वेन्द्र खनाल फेरि एकपटक सक्रिय राजनीतिक भूमिकामा प्रवेश गर्न थालेका छन्, जसले नेपालको संघीय राजनीतिमा नयाँ प्रतिस्पर्धा थपिने संकेत दिएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
