logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

कर्फ्यूका कारण एमालेको मूल कार्यक्रम स्थगित, युवाहरूको नारावाजीसहित प्रदर्शन जारी

कर्फ्यूका कारण एमालेको मूल कार्यक्रम स्थगित, युवाहरूको नारावाजीसहित प्रदर्शन जारी


  • बुधबार, मंसिर ३ २०८२
  • 702
    SHARES

    सिमरा । प्रशासनले कर्फ्यू आदेश जारी गरे पनि एमाले युवाहरूको प्रदेश भेला परवानीपुरमा जारी छ । महासचिव शंकर पोखरेलले उद्घाटन गर्ने तय भएकोमा सिमरामा तनाव भएपछि सामान्य रूपमा कार्यक्रम गर्ने तयारी रहेको एमाले नेता किसान श्रेष्ठले बताए । जनप्रदर्शन भने स्थगित भएको छ ।

    सिमरा विमानस्थलमा जेन-जी प्रदर्शनको विरोधका कारण जहाज नगएपछि नेताहरू काठमाडौंमै रोकिएका छन् ।

    जनप्रदर्शनका लागि विभिन्न स्थानबाट अगाडि बढेका एमाले कार्यकर्ता, समर्थक र शुभचिन्तक कर्फ्यूका कारण बाटैमा रोकिएको उनले बताए ।

    ‘पाँच हजार मान्छे बाटैमा छन्, उनीहरूलाई फर्किन भनिएको छ’, उनले बताए । यद्यपि परवानीपुरस्थित डीएभी स्कुलसँगै चयनपुरको चौरमा निर्धारित भेला स्थलमा दुई हजारभन्दा बढी मानिस भेला भइसकेका थिए । नेता श्रेष्ठका अनुसार आइसकेका कार्यकर्तालाई सम्बोधन गरिने र कार्यक्रम समापन गर्ने तयारी छ ।

    भेलाका निम्ति मधेशका ८ वटै जिल्लाबाट एक हजारभन्दा बढी सहभागी भएका छन् । भेलास्थल मुख्य सडकसँगै भएकाले सजग भएर कार्यक्रम सम्पन्न गरिने श्रेष्ठले बताए ।

    स्थानीय प्रशासनले लगाएको कर्फ्यू आदेश उल्लङ्घन गर्दै युवाहरूले बाराको सिमरामा प्रदर्शन गरेका छन् ।

    नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको तनावपछि उत्पन्न हुन सक्ने जोखिम मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यू आदेश जारी गरेको छ ।

    तर, सिमराको मुख्य बजार क्षेत्रमै ठूलो संख्यामा उपस्थित भएर युवाहरू नारावाजीसहित प्रदर्शन गरिरहेका छन् ।

    सुरक्षाकर्मीहरूले माइकिङ गर्दै युवाहरूलाई आआफ्ना घर फर्कन भनिरहेका छन् ।

    स्थानीय प्रशासनले गण्डक नहरदेखि पथलैया सडकखण्डको दायाँ–बायाँ ५०० मिटर र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म बुधबार दिउँसो १२:३० बजेदेखि राति ८ बजेसम्म कुनै पनि प्रकारको भेला, जुलस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका कार्यक्रम गर्न प्रतिबन्ध लगाएको छ ।

    प्रकाशित : बुधबार, ३ मंसिर २०८२ , ०२:४५ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend