logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

प्रतिनिधिसभा निर्वाचनका लागि सेना परिचालन सुरु, तीन चरणमा सुरक्षा व्यवस्था कडा

प्रतिनिधिसभा निर्वाचनका लागि सेना परिचालन सुरु, तीन चरणमा सुरक्षा व्यवस्था कडा


  • शुक्रबार, मंसिर १२ २०८२
  • 572
    SHARES

    – लोकसारथि संवाददाता, काठमाडौं ।

    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेपछि देशभर सुरक्षा तयारी औपचारिक रूपमा प्रारम्भ भएको छ। मन्त्रिपरिषद्को मंसिर ८ गतेको सिफारिस का आधारमा राष्ट्रपतिबाट आएको स्वीकृतिसँगै चुनाव सुरक्षामा सेना चरणबद्ध रूपमा परिचालित हुने भएको हो।

    प्रधानमन्त्री कार्कीको निर्देशनः “चुनावमा एक थोपा पनि रगत नझारियोस्”

    प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार जङ्गी अड्डा पुगेर चुनाव सुरक्षाबारे प्रत्यक्ष निरीक्षण गरिन्।
    उहाँले सेना अधिकारीहरूसँग कुरा गर्दै स्पष्ट निर्देशन दिइन्—

    “सुरक्षा संवेदनशीलताअनुसार सबै निकायसँग घनिष्ठ समन्वय गरेर त्रुटिरहित सुरक्षा सुनिश्चित गर्नुहोस्। चुनावमा एक थोपा पनि रगत नबग्ने व्यवस्था सेना स्वयंसेवी भावनासहित सुनिश्चित गरोस्।”

    प्रधानमन्त्रीलाई सेनाले सुरक्षा चुनौती, जोखिम मूल्यांकन तथा आगामी कार्ययोजनाबारे विस्तृत ब्रिफिङ दिएको थियो। सेनाले प्रतिनिधिसभा निर्वाचनमा आफ्नो परिचालन ढाँचा र रणनीतिक योजना समेत प्रस्तुत गरेको जङ्गी अड्डा स्रोतले जनाएको छ।

    सेना परिचालन तीन चरणमा

    सैनिक प्रवक्ता सहायकरथी राजाराम बस्नेतका अनुसार यसपटक सेनाको तैनाथी तीन चरणमा हुनेछ।

    जङ्गी अड्डाका उच्च स्रोतहरूले दिएको विवरण यसप्रकार छ—

    १) पहिलो चरण – ३ महिना अगाडिदेखि नै चुनाव–केन्द्रित पट्रोलिङ

    कार्तिक ३० गते बसेको केन्द्रीय सुरक्षा समिति बैठकले जेनजी आन्दोलनपछि देखिएको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै तीन महिना पहिलेदेखि नै सेना सक्रिय रूपमा चुनाव–केन्द्रित मोबाइल पट्रोलिङ गर्नुपर्ने निर्णय गरेको थियो।

    २) दोस्रो चरण – १ महिना अगाडि थप फौज सहित फील्ड परिचालन

    निर्वाचन मितिभन्दा एक महिना पहिलेदेखि ठूलो संख्यामा फौजलाई प्रत्यक्ष रुपमा फील्डमा उतार्ने तयारी गरिएको छ।

    ३) तेस्रो चरण – निर्वाचन सम्पन्न भई नतिजा नआउन्जेलसम्म सञ्चालित तैनाथी

    मतदान सकिएपछि सम्भावित तनाव, असन्तुष्टि वा परिणामलगत्तै हुन सक्ने गतिविधि रोक्न सेना निरन्तर परिचालनमै रहनेछ।

    यसअघि सेना सामान्यतः एक महिना मात्र चुनावमा खटिन्थ्यो, तर यसपटक त्रैमासिक रणनीति अपनाइएको छ।

    ३ लाख १५ हजार सुरक्षाकर्मी खटिने, ७९ हजार सेना तैनाथ

    एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार यसपटक चारवटै सुरक्षा निकाय मिलेर ३ लाख १५ हजार सुरक्षाकर्मी परिचालित हुनेछन्।
    यसमध्ये ७९ हजार नेपाली सेना प्रत्यक्ष रूपमा निर्वाचन सुरक्षामा तैनाथ हुने तयारी छ।

    प्रहरी गतिविधि सहजीकरणमा सेनालाई विशेष जिम्मेवारी

    प्रधानमन्त्री कार्कीले सेनालाई प्रहरीका कारबाही तथा गस्तीलाई सहजीकरण गर्ने, जनतालाई निर्विघ्न सुरक्षा प्रत्याभूति दिलाउने तथा राजनीतिक दलहरूको गतिविधि बिना अवरोध सञ्चालन गर्न सहयोग पुर्‍याउन निर्देशन दिएकी छन्।

    उहाँले विशेषतया जेनजी आन्दोलनका क्रममा लुटिएका तथा हराएका हतियार नियन्त्रण गर्न प्रहरी र सशस्त्रसँग पूर्ण समन्वयमा काम गर्न सेना नेतृत्वलाई आग्रह गरिन्।

    प्रधानमन्त्रीको भनाइ—

    “फरार अपराधी पक्राउ गर्न प्रहरीलाई सहयोग गर्ने कुरामा कुनै कमी नराखी खटिनुहोस्। देशले शान्त, निष्पक्ष र सुरक्षित निर्वाचन चाहन्छ।”

    आगामी फागुन २१ को मतदान नजिकिँदै जाँदा देशभर सुरक्षा सतर्कता उच्च स्तरमा पुगेको छ। तीन महिनाअघिदेखि नै व्यापक सैन्य परिचालन हुँदै जानु विगतका चुनावभन्दा सबैभन्दा कडा र रणनीतिक सुरक्षा तयारी मानिएको छ।

    प्रकाशित : शुक्रबार, १२ मंसिर २०८२ , ०४:३१ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend