logo

बुधबार, २४ भाद्र २०८३

बुधबार, भाद्र २४ २०८३

तिलोत्तमा क्याम्पसका अध्यापक पन्थीको वाट्सएप अकाउन्ट ह्याक गरी डेढ लाख बढी रकम ठगी

तिलोत्तमा क्याम्पसका अध्यापक पन्थीको वाट्सएप अकाउन्ट ह्याक गरी डेढ लाख बढी रकम ठगी


  • बुधबार, मंसिर २४ २०८२
  • 6.3K
    SHARES

    बुटवल । आजको युग प्रविधिको युग हो । प्रविधिको सहयोगबाट मानिसले कैयौँ सुविधा र फाइदाहरु प्राप्त गरेको छ । प्रविधिको सदुपयोगले मानिसलाई लाभान्वित बनाएको छ भने त्यसको दुरपयोगबाट अनेकौँ अपराधिक गिरोहहरुले फाइदा उठाएका छन् । प्रविधिको दुरुपयोग गरी विभिन्न ठगी कार्य गर्नु हिजोआज सामान्य घटना जस्तै भइसकेको छ ।

    आज अनलाइन कारोबार कुनै पनि चिजवस्तु खरिद बिक्री गर्ने सशक्त माध्यम बनेको छ । जहाँ अनलाइन कारोबारले सबैको विश्वास जितेको भए पनि यसलाई माध्यम बनाएर ठगी गर्ने गिरोहका कारण प्रयोगकर्तालाई अनेक झन्झट र तनाव सिर्जना भएको छ । व्यक्तिका फेसबुक अकाउन्ट, ट्वीटर, टिकटक, मेसेन्जर, वाट्सएप, बैंक अकाउन्ट, इमो लगायतका नवीन प्राविधिक साधनहरु ह्याकरका लागि वरदान साबित भएका छन् । कैयौँ व्यक्तिहरु ठगिने, विभिन्न कानुनी फन्दामा पर्ने, महत्वपूर्ण समय खेर जाने र शारीरिक तथा मानसिक यातनाको शिकार हुने जस्ता जटिलताहरुले प्रविधिमाथिको अविश्वसनीयतालाई बल प्रदान गरेको छ ।

    प्रविधि प्रयोगकर्ताको विश्वास गुम्ने यस्तै ठगीको एउटा अर्काे घटना घटेको छ । काठमाडौँ त्रिभुवन विश्वविद्यालयका प्रोफेसर डाक्टर रामचन्द्र पौडेललगायत अन्य व्यक्तिहरु वाट्सएप अकाउन्ट ह्याक गर्ने ह्याकरबाट ठगिएका छन् । एका बिहानै पौडेलको मोबाइलमा अत्यन्त विश्वासिला पात्रको वाट्सएपबाट मेसेज पठाइन्छ । उक्त मेसेज खोलेर हेर्दा मलाई पैँतिस हजार रुपैयाँ इमर्जेन्सी आवश्यक परेकाले तुरुन्त पठाइदिनुपर्‍यो सर भनी अनुरोध गरिएको हुन्छ । त्यसपछि पौडेलले सम्बन्धित व्यक्तिलाई फोन सम्पर्क गर्न खोज्छन् । उताबाट फोन व्यस्त भइरहन्छ । अनेकौँ पटकको प्रयासपछि पनि फोन सम्पर्क हुन नसक्दा पौडेललाई आफ्ना नजिकका मित्र साँच्चिकै आपतमा परेको हुनुपर्छ भन्ने लाग्छ । पैसा पठाउनका लागि तुरुन्त क्युआर कोड उपलब्ध गराउन अनुरोध गर्छन् । उताबाट क्युआर कोड पठाइन्छ जुन आफ्ना मित्रको नामको क्यु आउर नभई अर्कै व्यक्तिको नामको क्युआर हुन्छ । पौडेलले नेटवर्कभन्दा बाहिर भएका कारणले होला अन्य कुनै साथीको क्युआर पठाएको हुनुपर्छ भन्ने ठानी त्यसैमा पैँतिस हजार रुपैयाँ ढिला नगरी पठाइदिन्छन् ।

    आफूले पठाएको पैसा प्राप्त भयो वा भएन भनी यकिन गर्न पौडेलले केही समयपछि फोन सम्पर्क गर्छन् । यस पटक फोन उठ्छ र दोहोरो संवाद हुन्छ । उटाबाट आफूले कुनै मेसेज नगरेको, पैसासमेत पठाउन नभनेको, क्युआर पनि नपठाएको, आफ्नो अकाउन्टमा पैसा नआएको तथा उक्त क्युआर कोड आफ्नो पनि नभएको जवाफ आउँछ । जवाफ सुनेर पौडेल आफू ठगिएको ठानी केही बेर झसङ्ग हुन्छन् । त्यसपछि आफू ठगिएको गुनासोसहित साइबर ब्युरो काठमाडौँमा फोनबाटै जानकारी गराउँछन् ।

    अन्य व्यक्तिहरुबाट समेत गरी एक लाख बाउन्न हजार बराबरको रकम ह्याकरले ठगी गर्न सफल भएको जानकारी लोकसारथिलाई प्राप्त भएको छ । तिलोत्तमा क्याम्पसका उपप्राचार्य बद्रीनारायण पन्थीको वाट्सएप अकाउन्ट ह्याकरले ह्याक गरी उक्त ठगी कार्य गरेको बुझिएको छ । पन्थीका अनुसार ह्याकरले विभिन्न व्यक्तिहरुका फरक फरक नामका क्युआर कोडहरु प्रयोग गरेर पन्थीका निकटतम सात जना परिचितहरुबाट उक्त रकम असुलेको पाइएको छ ।

    आफ्ना अत्यन्त नजिकका शुभचिन्तक वा मित्रहरुलाई आफ्नै नामको वाट्सएप अकाउन्टबाट ह्याकरले त्यसरी ठगेकोमा आफू चिन्तित बनेको पन्थीले बताएका छन् । आफूलाई सहयोग गर्ने उद्देश्यले पठाएको रकम ह्याकरको हातमा परेको खबरपछि ह्याकर विरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका छन् । पौडेललगायत सातै जनाको रकम फिर्ता गराउन पाए आफूलाई सन्तोष मिल्ने पन्थीले बताए ।

    ह्याकरले सबिन श्रेष्ठको नाममा रहेको ९७०५५६२४०३ नम्बरबाट खोलिएको इसेवाको क्युआर कोड र खुस्बु लामाको मोबाइल नम्बर ९८२००६७१८० का क्युआरहरु प्रयोग गरेको देखिन्छ । यी दुबै नम्बरमा फोन सम्पर्क गर्दा माफ गर्नुहोला तपाईँले डायल गरेको नम्बर उपलब्ध हुन सकेन भन्ने जवाफ आउँछ ।

    पछिल्लो समयमा यस्ता अनलाइन ठगीका घटनाहरु बढ्दै गएका कारणले आमसर्वसाधारण सचेत रहन जरुरी देखिन्छ भने साइबर ब्युरो लगायत राज्यका सबै सुरक्षा संयन्त्र यस्ता गिरोह विरुद्ध कठोर भई गुनासा र उजुरी पर्नसाथ कार्वाहीमा उत्रन आवश्यक छ ।

     

    प्रकाशित : बुधबार, २४ मंसिर २०८२ , ०८:४५ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend